बिहीबार, वैशाख १३, २०८१
00:08 | ०४:५३

लन्डन पशुपतिनाथ मन्दिरमा नवदुर्गा विशेष पूजा आरम्भ

घटस्थापना गरी जमरा राखियो

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२२

लन्डन। बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि नवदुर्गाको विशेष पूजा आरम्भ गरिएको छ।

सोमबार मन्दिरमा घटस्थापनाका साथै विधिपूर्वक जमरा पनि राखिएको छ। घटस्थापनाको दिनमा शैलापुत्री देवी र गणेशको विशेष पूजा अराधना सम्पन्न भएको छ।

मन्दिरका मूल पण्डित निलहरि घिमिरेका अनुसार घटस्थापनाकै दिनदेखि नवदुर्गाको विशेष पूजा अराधना आरम्भ भएको छ। अब नवदुर्गा अवधिभर मन्दिरमा विशेष कार्यक्रमसहित पूजा अराधना सञ्चालन गरिनेछ। 

नवदुर्गाको सातौँ दिन फूलपातीमा पञ्चकन्यासहित मन्दिर परिक्रमा गरी फूलपाती भित्र्याइनेछ भने अष्टमीको दिन कालरात्री पूजा र नवमीको दिन नौं कन्याहरुको पूजा सञ्चालन गरिनेछ।  

विजया दशमीको दिन बिहान सवा ९ बजेकै शुभ साइतमा मन्दिरमा टीका वितरण कार्यक्रम शुरु हुनेछ। पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीले अपरान्ह दुई बजेसम्म उपस्थित भक्तालुहरुलाई टीका जमरा लगाइदिनेछन्। घरमै टीका मनाउनेहरुको लागि बिहान ८ बजेदेखि नै मन्दिरमा जमरा वितरण गरिनेछ।  


मन्दिर व्यवस्थापन समिति अध्यक्ष दासुराम पाण्डेले नवदुर्गा अवधिमा हरेक दिन बिहान ९ देखि १० तथा साँझ ५ देखि ७ बजेसम्म मन्दिरमा नवदुर्गा विशेष पूजा सञ्चालन गरिने व्यवस्था मिलाइएको बताए।

मन्दिर नियमित दैनिक बिहान ८ बजे नै खुल्ने र पूजा, आरती र भजनकिर्तनजस्ता कार्यक्रम पनि यथावत रहने उनले जनाए।  

हरेक दिन एक जना कर्ता राखेर पूजा सञ्चालन गरिनेछ। बिहान पूजा अराधना हुनेछ भने साँझ ५ बजेदेखि भक्तालुहरुले मन्दिर दर्शन गर्न सक्नेछन्। साँझ ६ बजे आरती र त्यसपछि ७ बजेसम्म भजनकिर्तन सञ्चालन हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू