मंगलबार, वैशाख ११, २०८१
13:15 | १८:००

लन्डन हिलिङडन अस्पतालमा ओपन डे, नेपालीको स्टल बन्यो आकर्षण

कृष्णप्रसाद शर्मा सेप्टेम्बर २६, २०२२

लण्डन । पश्चिम लण्डमा रहेको हिलिङडन अस्पतालले शनिबार एक भव्य समारोहका साथ ‘ओपन डे’ मनाएको छ जसमा नेपालीहरूले पनि विशेष सहभागिता जनाए ।

हरेक वर्ष मनाइंदै आएको ओपन डे यसपटक भने विशेष रहेको कार्यक्रममा उपस्थितहरुको प्रतिक्रिया थियो। 

हिलिङडन अस्पतालमा ७८ वटा देशका कामदार कार्यरत रहेपनि नेपाली समुदायप्रति अस्पताल प्रशासन एवं व्यवस्थापन निकै आकर्षित रहेको कार्यक्रम आयोजकमध्येकी एक सदस्य कविता गुरूङले बताइन्। 

कार्यक्रममा अस्पतालभित्रका विभिन्न संकायले आफ्नो सेवा कसरी सञ्चालन गरिराखेको छ भन्ने जानकारी दिने उद्धेश्यले आफ्नो स्टल राखेर आगन्तुकलाई सूचना प्रवाह गरिएको थियो। अस्पताल प्रांगणका दुई ठाउंमा राखिएका स्टलहरूमध्ये नेपालीहरूको स्टललाई प्राथमिकताका साथ चमेना गृह परिसरमा स्थान दिइएको थियो। जसको आडैमा आयोजक मध्येको एक डाईभरसिटी इन्कुजनको डेक्स समेत थियो।

अस्पतालमा अल्पसंख्यक रूपमा रहेपनि नेपालीहरूको यो सक्रियता र एकता देखेर अन्य समुदायले पनि भविष्यमा आफूहरु पनि सहभागी हुन प्रेरणा मिलेको बताएका थिए। 

नेपाली झण्डा अन्य देशको भन्दा छुट्टै र मौलिक रहेका कारण पनि झण्डा र नेपाली स्टल धेरैको आकर्षणको केन्द्रमा परेका थिए। स्टलमा नेपाली कला संस्कृति झल्काउने सामग्रीहरुको साथै बुद्धको मूर्ति समेत राखिएको थियो। 

अस्पतालका प्रत्येक वार्डमा काम गर्ने नेपालीहरू कतिपय बिदा बसेर, कतिपयले आफ्नो खाजा समयलाई सांचेर नेपाली भेषभूषा झल्किने पहिरनका साथ उपस्थिति हुँदा छुट्टै माहोल देखिएको थियो। कतिपय रातीको सिफ्ट काम गरेर पनि पुन: दिनभर कार्यक्रममा खटिएका थिए। 

कार्यक्रममा नेपाली समुदायको सक्रिय उपस्थितिले अस्पतालकी कार्यकारी प्रमुख प्याट्रिसा राईट र अस्पतालको ट्रष्टका अध्यक्ष म्याथु स्विन्डेल दुवै निकै खुशी भएको र नेपाली स्टलमा आए जानकारी लिएको नेपाली कार्यक्रमको संयोजकमध्येकी एक सामाजिक अभियन्ता अन्जना गुरूङले बताइन्। 

विश्वव्यापी वातावरण गीत ‘द मदर’ का गीतकार तथा विभिन्न अंग्रेजी चलचित्रमा नायकको भूमिका निर्वाह गरेका अभियन्ता किथ बार्टलेट पनि आफ्नो श्रीमतीसंगै उपस्थित थिए।

२६ वटा भाषामा अनुवादित उक्त गीत नेपाली कार्यक्रम संयोजकमध्ये एक अन्जना गुरूङले गाएकी थिइन्।  

सर्वसाधारणलाई समेत आउन खुला रहेको उक्त कार्यक्रममा स्थानिय समुदायको उल्लेख्य सहभागिता थियो।

गत केहि महिनाअघि अस्पतालमा नेपाल डे भव्य रुपमा मनाउन प्रमुख भूमिका निर्वाह गरेकी रस्मिता दर्लामीले यसपटक पनि अस्पताल प्रशासनसंग समन्वय गरी कार्यक्रम व्यवस्थापनमा विशेष सहयोग पुर्‍याएकी थिइन्।

कार्यक्रममा अतिथिका रुपमा उपस्थित अर्टिमियस कार्यस्टिनस् (ड्यानी ) र किथ बार्टलेटलाई रस्मिता दर्लामी र अञ्जना गुरुङले नेपाली ढाका टोपी र खादाले स्वागत गरेका थिए। 

हिलिङडन अस्पतालमा करिब दुई सयको संख्यामा नेपाली कार्यरत छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू