आइतबार, जेठ ६, २०८१
05:33 | १०:१८

रहेनन् नेपाललाई माया गर्ने बेलायती राजनीतिज्ञ लर्ड शेख

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२२

लन्डन । नेपाललाई माया गर्ने बेलायती राजनीतिज्ञ लर्ड शेखको निधन भएको छ।

बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ का सदस्य शेखको ८१ वर्षको उमेरमा विहीबार आफ्नै निवासमा निधन भएको परिवारलाई उदृत गर्दै लन्डनस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ। 

दूतावासले शुक्रबार ट्वीटरमार्फत् शेखको निधनमा दु:ख व्यक्त गर्दै भनेको छ, ‘नेपाल तथा बेलायतबीचको दुई पक्षीय सम्बन्धलाई मजबुद पार्ने पहलहरुका लागि उहाँको सम्झना भइरहनेछ।’

राजदूत ज्ञानचन्द्र आचार्यले स्वर्गीय शेखको परिवारलाई समवेदना सन्देश पनि पठाएका छन्।

लर्ड शेख नेपालसँग निकट सम्बन्ध रहेका बेलायती राजनीतिज्ञ थिए। बेलायती संसदको नेपाल मामिला हेर्ने अन्तरपार्टी संसदीय समितिमा उपाध्यक्षको जिम्मेवारीमा थिए उनी।

त्यस्तै, बेलायत तथा नेपालबीच व्यापार, लगानी प्रवर्द्धन् गर्ने उद्धेश्यले स्थापित ‘यूके नेपाल ट्रेड एन्ड इन्भेस्ट्मेन्ट फोरम’ का उनी संस्थापक अध्यक्ष हुन्।

फोरमको सक्रियतामा ‘इन्भेस्टमेन्ट बोर्ड नेपाल’ समेतको सहकार्यमा विगतमा बेलायत- नेपाल व्यापार तथा लगानी प्रवर्द्धनात्मक कार्यक्रमहरु पनि सम्पन्न भएका थिए। सोही शिलशिला उनले नेपालको भ्रमण पनि गरेका थिए।

कञ्जरभेटिभ पार्टीको मुस्लिम फोरम अध्यक्ष रहेका शेख विभिन्न मुस्लिम च्यारिटीहरुमा आबद्ध थिए।तीनै च्यारिटीहरुमार्फत् कोभिड महामारीका बेला उनले नेपालका केही स्कुलहरुमा सहयोग समेत गरेका थिए।

बेलायतका लागि नेपाली पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदीले पनि लर्ड शेखको निधनमा शोक व्यक्त गर्दै उनलाई नेपाली प्रकृति र संस्कृतिका प्रशंसक नेपालका एक असल मित्रका रुपमा स्मरण गरेका छन्।

१३ जुन १९४१ मा भारतीय मूलका बाबुआमाबाट केन्यामा जन्मिएका थिए शेख। युगान्डामा हुर्किएका उनी २१ वर्षको उमेरमा बेलायत आएका थिए। उनी प्रपर्टी, इन्सुरेन्ससहितका कयौं व्यवसायमा स्थापित भएका थिए।  

सन् २००४ मा कञ्जरभेटिभ पार्टी प्रवेश गरेका शेख सन् २००६ देखि हाउस अफ लर्ड्समा सदस्य रहंदै आएका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू