मंगलबार, वैशाख ११, २०८१
17:21 | २२:०६

बेलायतमा आयकर र ‘स्ट्याम्प ड्युटी’ करमा व्यापक कटौती घोषणा

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२२

बेलायती अर्थमन्त्री क्वासी क्वार्टिङ

लन्डन। प्रधानमन्त्री लिज ट्रस नेतृत्वको नवगठित सरकारले मन्दीको मुखमा पुगेको अर्थतन्त्र सुधारको प्रयासमा कर कटौतीको घोषणा गरेको छ।

सरकारका अर्थमन्त्री क्वासी क्वार्टेनले शुक्रबार आयकर र स्ट्याम्प ड्युटी करमा व्यापक कटौती घोषणा गरेका छन्।

मन्त्री क्वार्टेनले आयकर २० प्रतिशतबाट घटाएर १९ प्रतिशतमा झारिएको घोषणा गरे। आयकरमा गरिएको यो कटौतीबाट वार्षिक २० हजार पाउन्ड आम्दानी हुने व्यक्तिले १ सय ६७ पाउन्ड बचत गर्न सक्नेछन्। 

मन्त्री क्वार्टेनले वार्षिक डेढ लाख पाउन्डभन्दा बढी आम्दानी हुनेहरुलाई लाग्ने गरेको ४५ प्रतिशत कर हटाइएको घोषणा गरेका छन्। अब आयकरमा ४० प्रतिशत नै सबैभन्दा उच्चदर रहनेछ। 

त्यस्तै, यही वर्षको शुरुमा नेश्नल इन्सुरेन्समा ल्याइएको १ दशमलव २५ प्रतिशतको वृद्धि पनि खारेज गरिएको छ।

कर कटौतीसम्बन्धि यी घोषणा आगामी वर्ष अप्रिल महिनादेखि कार्यन्वयनमा आउने बताइएको छ।

अर्थमन्त्री क्वार्टेनले घर खरिद गर्दा सरकारलाई बुझाउनुपर्ने ‘स्ट्याम्प ड्युटी’ करमा समेत भारी कटौती घोषणा गरेका छन्। जसअनुसार स्ट्याम्प ड्युटी तिर्नुपर्ने कारोबारको थ्रेसहोल्ड  यसअघिको १ लाख २५ हजारलाई दोब्बर बढाएर २ लाख ५० हजार पुर्‍याइएको छ। अब २ लाख ५० हजारसम्मका घरमा  स्ट्याम्प ड्युटी छुट भएको छ।

त्यस्तै, पहिलोपटक घर खरिदकर्तालाई भने ४ लाख २५ हजारसम्मको कारोबारमा स्ट्याम्प ड्युटी छुट हुने भएको छ। जुन थ्रेसहोल्ड यसअघि तीन लाख पाउन्डसम्म मात्रै थियो।

स्ट्याम्प ड्युटी छुटसम्बन्धि घोषणा भने तत्काल कार्यान्वयन हुनेछ।  

बेलायत सरकारद्वारा घोषित पछिल्लो कर कटौती सन् १९७२ यताकै सबैभन्दा भारी कटौती भएको जनाइएको छ। विपक्षी लेबर पार्टीले भने घोषित कटौतीबाट उच्च आम्दानी गर्ने वर्गलाई मात्रै बढी फाइदा मिल्ने भन्दै ‘गरी खाने वर्ग’ लाई सम्बोधन गर्न नसकेको भनेर आलोचना गरेको छ।

अर्थमन्त्री क्वार्टेनले मन्दीको मुखमा पुगेको अर्थतन्त्र चलायमान पार्ने सरकारको प्रयासस्वरुप कर कटौती घोषणा गरिएको बताएका छन्।

सेप्टेम्बर पहिलो साता प्रधानमन्त्रीमा निर्वाचित हुनुपूर्व लिज ट्रसले पनि कर कटौतीलाई आफ्नो प्रमुख एजेन्डाका रुपमा प्रस्तुत गरेकी थिइन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू