शुक्रबार, वैशाख १४, २०८१
05:56 | १०:४१

एनआरएनए युरोप सम्मेलन विशेष र पृथक बनाउने सोच छ: उपसंयोजक सापकोटा

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२२


लन्डन — गैरआवासीय नेपाली संघ युरोप क्षेत्रले आगामी सेप्टेम्बर २४ र २५ तारिख गर्न लागेको १४औं युरोपियन क्षेत्रीय बैठकसहित १२औं महिला, युवा तथा विज्ञ सम्मेलन तयारी अन्तिम चरणमा छ ।

‘रुपान्तरणका लागि साझेदारी’ नारासहित स्वीडेनको राजधानी स्टकहोममा हुने सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र अभियन्ताहरु स्वीडेनतर्फ जाने क्रम शुरु भएको छ । 

एनआरएनए आइसीसी युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले छोटो समयमा पनि सम्मेलन तयारी लगभग पुरा भएको बताए । 

बेलायतका सफल व्यवसायी सापकोटाले भेला सफल बनाउन खटिइरहेका क्षेत्रीय संयोजकद्वय तथा भेला आयोजक समितिका अध्यक्ष सन्तोष भट्टराई र चिन्तामणि सापकोटा लगायत सबैप्रति आभार पनि व्यक्त गरे ।

यो पटकको सम्मेलन विशेष र पृथक हुने बताउंछन् सापकोटा । ‘युरोप क्षेत्रले एनआरएनए एनसीसीमा करिब ७५ प्रतिशत हिस्सा ओगट्ने, एनआरएनएको जन्म युरोपमै भएको र नेपालको विकास र समृद्धिमा प्रमुख भूमिका खेल्ने भएकाले युरोप महादेशको सम्मेलन अर्थपूर्ण हुन्छ’ सापकोटाले भने ।  

युरोप सम्मेलनले जे निर्णय गर्छ त्यसले अरु देशका एनसीसीलाई पनि मार्गदर्शन गर्ने उनको विश्वास छ । यसपटकको सम्मेलन युवा र महिलाको भूमिका एवं सहभागिता खोज्नुका साथै व्यवहारिक जीवनमा रूपान्तरणको प्रयासका लागि प्रयत्नशील हुन केन्द्रित हुने उनको आशा छ ।

सम्मेलनमा लगानीका ठूला आश्वासनमात्र भन्दा पनि व्यवहारिक पक्ष हेरिनुपर्ने उनको जोड छ । ‘एनआरएनए अहिले गुटउपगुट र विभाजनले संकटमा छ, एकले अर्कोको अस्तित्व नस्वीकार्ने विडम्बना देखिएको छ । यस्तो परिस्थितिमा सम्मेलनले संघलाई एकीकृत गरी असन्तुस्ट पक्षलाई पनि एकसाथ लैजान भूमिका निर्वाह गर्नुपर्छ,’ लामो समय युरोपपछि बेलायतमा स्थापित सामाजिक अभियन्ता सापकोटाले भने । 

पद, शक्ति र पैसाको पछाडि दौड्ने जमातले एनआरएनमा गुटबन्दी गरिरहेको उनको बुझाइ छ । बेलायत एनसीसीको हालत त्यसैको उपज ठान्छन् उनी ।  

एनआरएनए आइसीसीमा बेलायतबाट मात्र १४ जना पदाधिकारी भएको जनाउंदै सापकोटाले तिमध्ये युरोप सम्मेलनमा आर्थिक सहयोग गर्ने २-३ जनाबाहेक नहुनु दु:खद  भएको उनले सुनाए । 

‘फेसबुक स्टाटस र फोरममा ठुलो कुरा गर्ने तर पर्दा सिन्को नभांच्नेहरु नै पद ओगटेर बसेका छन् । उनीहरुमा सामाजिक, व्यक्तिगत र पैसाको इगो देखिन्छ’- स्पष्ट वक्ता सापकोटाले भने । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू