मंगलबार, वैशाख ११, २०८१
18:23 | २३:०८

बेलायत-अमेरिका व्यापार सम्झौता असम्भव – प्रधानमन्त्री ट्रस

रासस-एपी सेप्टेम्बर २०, २०२२

बेलायती प्रधानमन्त्री लिज ट्रस । तस्बिर- एएफपी

न्यूयोर्क, ४ असोज –बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएकी छन् ।

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका आएकी उनले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलायत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गरिन् । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताइन् ।

संयुक्त राष्ट्रसंघको ७७ औँ महासभामा भाग लिन आएकी उनले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जोन्सन र टेरेसा मेका अडान विपरित अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएकी छैनन् । युरोपेली संघबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् ।

दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हालेकी उनले भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछिन् । उनीहरूबीच गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो ।

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलायत र अमेरिका एकसाथ रहेका तथा सामूहिकरूपमा रूसी आक्रमणविरुद्ध उभिन बेलायत–अमेरिका समर्थ छन् भन्ने सन्देश दिने प्रधानमन्त्री ट्रसले बताइन् ।

युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वव्यापीरूपमा उत्पन्न चुनौती सामना गर्न अमेरिकाजस्ता सहयोगीका साथै फ्रान्स, युरोपेली संघ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको ट्रसले बताइन् । बेलायत र अमेरिकाले युक्रेन युद्ध, रूस र चीनप्रति समान धारणा एवम् अडान राखेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू