आइतबार, जेठ ६, २०८१
05:51 | १०:३६

संविधान दिवसमा राष्ट्रपतिद्वारा पदक पाउनेमा बेलायतबाट पाँच जना

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२२

लन्डन- यस वर्षको संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभिन्न पदकसहित सम्मानित हुनेमा बेलायतबाट पाँच जना परेका छन् ।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, प्राध्यापक डा सूर्यप्रसाद सुवेदी, एनआरएनए अध्यक्ष कुल आचार्य, व्यवसायी पशुपति भण्डारी र साहित्यकार एवम् समाजसेवी लक्ष्मी राई (लारा) छुट्टाछुट्टै पदकबाट सम्मानित भएका हुन् ।

संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएवापत विभूषण प्रदान गर्ने घोषणा गरेकी हुन्। जसअनुसार प्रा डा सुवेदीलाई प्रसिद्ध प्रबल जनसेवा श्री, एनआरएनए अध्यक्ष आचार्यलाई सुप्रबल जनसेवा श्री, उपनियोग प्रमुख खनाल र व्यवसायी भण्डारीलाई प्रबल जनसेवा श्री तथा समाजसेवी राईलाई जनसेवा रत्न पदक प्रदान गरिएको हो ।

लामो समयदेखि बेलायतमै बस्दै आएका प्रा डा सूर्यप्रसाद सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान गरिएको छ । अहिलेसम्म गैरआवासीय नेपालीहरुले पाएका मानपदवीहरु मध्ये यस्तो उपल्लो तहको मान पदवी पाउने प्रा सुवेदी पहिलो व्यक्ति हुन्।

अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सुवेदीले विभिन्न समयमा नेपाल सरकारलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सल्लाह दिंदै आएका छन् ।

नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संसोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सिमासम्बन्धि विज्ञ समुहको सदस्यको रूपमा र त्यसपछि नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन्। सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने प्रा सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्वका रुपमा चिनिन्छन् ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष आचार्य ‘सुप्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्।

संसारका ८० भन्दा बढी मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो। गत मार्च २०२२ मा एनआरएनए आइसीसीको अध्यक्षमा निर्वाचित भएका आचार्य हाल नेपालको संविधान २०७२ मा उल्लेख गरिएको गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने मिसनमा खटिरहेका छन्।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल पनि राष्ट्रपतिबाट विभूषित भएकी छन् । उनले ‘प्रबल जनसेवा श्री पदक’को सम्मान प्राप्त गरेकी हुन् ।
दूतावासकी उपनियोग प्रमुख खनालले विगतमा केहि महिना बेलायतका लागि नेपाली कार्यवाहक राजदूतको जिम्मेवारी पनि सम्हालेकी थिइन् । कार्यवाहक राजदूत रहंदा उनले दूतावासको समग्र कमाण्डका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको कुशल व्यवस्थापनका लागि प्रशंसा कमाएकी थिइन्।

बेलायतबाटै पदक प्राप्त गर्नेको सूचीमा व्यवसायी पशुपति भण्डारी पनि परेका छन् । उनी पनि ‘प्रबल जनसेवाश्री पदक’ बाट सम्मानित भएका छन् ।

बेलायतस्थित एक सफल व्यवसायी भण्डारी नेपाल पर्यटन बोर्डका पूर्व मानार्थ दूत पनि हुन् । उनले बेलायतका साथै नेपालमा पनि हस्पिटालिटी क्षेत्रमा थुप्रै व्यवसाय सञ्चालन गरेका छन् । उनले आफ्नै अगुवाइमा वर्षेनी बेलायतीहरुको सामूहिक नेपाल भ्रमण पनि संयोजन गर्दै आएका छन्।

यसैगरी, बेलायत निवासी साहित्यकार लक्ष्मी राईलाई ‘जनसेवा रत्न पदक’ प्रदान गरिएको छ । लामो समयदेखि साहित्यिक क्षेत्रमा सक्रिय राई सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल छन् । उनकै नेतृत्वमा जुनकिरी इनिसिएटिभमार्फत् विभिन्न सामाजिक कार्य हुंदै आएका छन् । अहिले पनि उनी मेची काली एजुकेसनल टुरका लागि पूर्वी नेपालमा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू