शुक्रबार, वैशाख १४, २०८१
16:30 | २१:१५

राजकीय सम्मानसाथ महारानी एलिजावेथको अन्त्येष्टि

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२२

लन्डन । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म राज गरेकी महारानी एलिजावेथ द्वितीयको राजकीय सम्मानसहित भावपूर्ण बिदाइ गरिएको छ ।

लन्डनको वेस्टमिन्स्टर आबीमा राजपरिवारका सदस्य, देशका पूर्व प्रधानमन्त्रीहरु, संसारभरका सयौं मुलुकका राष्ट्रप्रमुख एवम् कूटनीतिक प्रतिनिधिसहित दुई हजार जना विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा महारानीको औपचारिक अन्त्येष्टि सम्पन्न भएको हो ।

सोमबार मध्यान्ह सम्पन्न अन्त्येष्टि समारोहपछि महारानीको शवलाई पश्चिम लन्डनस्थित विन्सोर क्यासलमा पुर्याइनेछ । जहाँ एक प्राइभेट समारोहबीच उनको समाधिस्थ गरिनेछ ।

अन्त्येष्टिपूर्व महारानीको शवपेटिकालाई बेलायती सेनाको गन क्यारेजमा राखेर वेस्टमिन्स्टर आबीमा ल्याइएको थियो ।

शवपेटिकाको अगाडि बेलायती सेनाका स्कटिस तथा आइरिश रेजिमेन्टहरु, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरु परम्परागत बाजा बजाउंदै परेडमा हिंडेका थिए ।

राजा चाल्र्स तृतीयसहित राजपरिवारका सदस्यहरु शवपेटिकालाई पछ्याउँदै हिंडेरै अन्त्येष्टिस्थल पुगेका थिए।

अन्त्येष्टि समारोह पूरा हुनुपूर्व रानीका पाइपरबाट राष्ट्रिय गानको धुन प्रस्तुत भएको थियो भने देशैभर दुई मिनेटसम्म मौनधारण गरिएको थियो।

महारानी एलिजाबेथ द्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल प्यालेसमा निधन भएको थियो । २१ अप्रिल १९२६ मा जन्मिएकी महारानीले सन् १९५२ मा २६ वर्षको उमेरमा गद्धी सम्हालेकी थिइन्।

महारानी एलिजावेथ द्वीतीयका तीन छोराहरु चार्ल्स, एन्ड्रु र एडवार्डका साथै एक छोरी आनसहित चार सन्तान छन्। उनका जम्मा ८ नातीनातिना र १२ पनातीपनातिना छन् ।

तस्विर एपी

तस्विर एपी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू