महारानी एलिजावेथको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै



लन्डन । बेलायतको इतिहासमै सबैभन्दा लामो समय ७० वर्षसम्म राज गरेकी महारानी एलिजावेथ द्वितीयको आज राजकीय अन्त्येष्टि हुँदैछ ।
९६ वर्षको उमेरमा गत ८ सेप्टेम्बरमा स्कटल्याण्डको बाल्मोरल प्यालेसमा निधन भएकी महारानीको अन्त्येष्टि अहिले बिहान ११ बजे लन्डनको वेष्टमिन्स्टर एब्बेमा हुँदैछ।
जुन समारोहमा विश्व नेताहरु, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरि करिब दुई हजार सहभागी हुने अपेक्षा छ ।
महारानीको अन्त्येष्टिमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतस्थित राजदूत ज्ञानचन्द्र आचार्य सहभागी हुँदैछन्।
राजकीय सम्मानका साथ हुन लागेको अन्त्येष्टिमा ब्रिगेड अफ गोर्खाजका सदस्य पनि सहभागी हुने भएका छन्। अन्त्येष्टि परेडमा झण्डै ४ हजार ब्रिटिश सैनिकमध्ये गोर्खा पनि सहभागी हुने भएका हुन् ।
बेलायती महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समय अनुसार १०:४४ बजे शाही नौसेनाको एकसय २३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेष्टमिन्स्टर आबी गिर्जाघरमा लगिने छ ।
बेलायतका नयां राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाई बहिनीहरुसंगै हिंड्ने छन् भने स्वर्गीय महारानीका नाती, नातिनीहरुले उनीहरुलाई पछ्याउनेछन्।
शवपेटिका भन्दा अगाडि स्कटिस तथा आइरिश रेजिमेन्टहरु, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरु परम्परागत बाजा बजाउंदै परेडमा हिंड्ने जनाइएको छ ।
बिहान ११ बजेदेखि शुरु हुने राजकीय अन्त्येष्टि समारोहमा ११.५५ बजे लास्ट पोस्ट बजाइए पछि पुरै ब्रिटेनभरि दुई मिनेट मौनधारण गरिने छ ।
रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिने छ । महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उनका पति फिलिपसंगै उनको समाधिस्थ गरिने छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५