शुक्रबार, वैशाख १४, २०८१
08:46 | १३:३१

बेलायती महारानीको अन्त्येष्टिमा ब्रिगेड अफ गोर्खाज अग्रपंक्तिमा

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२२

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ सोमबार हुने अन्त्येष्टिमा ब्रिगेड अफ गोर्खाज पनि सहभागी हुने भएका छन् ।

अन्त्येष्टि परेडमा झण्डै ४ हजार ब्रिटिश सैनिकमध्ये गोर्खा पनि सहभागी हुने भएका हुन् ।

बेलायती महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समय अनुसार १०:४४ बजे शाही नौसेनाको एकसय २३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेष्टमिन्स्टर आबी गिर्जाघरमा लगिने छ ।

बेलायतका नयां राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाई बहिनीहरुसंगै हिंड्ने छन् भने स्वर्गीय महारानीका नाती, नातिनीहरुले उनीहरुलाई पछ्याउनेछन्।

शवपेटिका भन्दा अगाडि स्कटिस तथा आइरिश रेजिमेन्टहरु, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरु परम्परागत बाजा बजाउंदै परेडमा हिंड्ने जनाइएको छ ।

बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह शुरु हुने बताइएको छ । ११.५५ बजे लास्ट पोस्ट बजाइए पछि पुरै ब्रिटेनभरि दुई मिनेट मौनधारण गरिने छ ।

रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिने छ । महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उनका पति फिलिपसंगै उनको समाधिस्थ गरिने छ ।

बेलायती इतिहासमा सबैभन्दा लामो ७० वर्ष बढी समय गद्दीमा रहेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल कासलमा निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू