शुक्रबार, चैत १६, २०८०
09:14 | १४:५९

महारानीको अन्त्येष्टीमा सहभागी हुन लन्डन आइपुगे मन्त्री खड्का

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२२

लन्डन – संयुक्त अधिराज्य (यूके) की महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का शनिबार राती लन्डन आइपुगेका छन् ।

राती करिब सवा ११ बजे हिथ्रो विमानस्थलमा उत्रिएका मन्त्री खड्कालाई बेलायती विदेश मन्त्रीकी एक ‘विशेष प्रतिनिधि’ ले स्वागत गरिन्।महारानीको अन्त्येष्टिमा सहभागी हुन बेलायत सरकारले पठाएको निम्तो स्वीकार गर्दै उनी बेलायत आएका हुन्।  

मन्त्री खड्काको स्वागतको लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,  नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महामन्त्रीहरु रोमियन लिम्बु, नोर्बु शेर्पा र इन्द्रहाङ लिङदेन, सदस्यहरु असल लिम्बु, चेत गुरुङ, महेन्द्र पौडेल, दुर्गाबहादुर गुरुङ, निशेष पोनु लिम्बु, इश्वर गुरुङ, नभयान लामा, तर्कजंग गुरुङ, कुमारी गुरुङ, सन्तोष सुवेदी लगायत कांग्रेसी कार्यकर्ता पनि हिथ्रो पुगेका थिए । 

लन्डनमा रहँदा मन्त्री खड्काले महारानीलाई श्रद्धाञ्जलि अर्पण तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुने कार्यक्रम छ ।

मन्त्री खड्का आगामी २१ सेप्टेम्बर (असोज ५ गते) स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।


बेलायतकी दिवंगत महारानीको अत्येष्टिमा सहभागी हुन विश्व नेताहरु लन्डन आउने क्रम शुरु भएको छ । कतिपय नेताहरु लन्डन आइसकेका छन् भने कयौं छिट्टै आइपुग्ने जनाइएको छ ।

विश्वभरबाट ५ सय बढी राष्ट्रप्रमुख वा सरकारी प्रतिनिधि अन्त्येष्टिमा सहभागी हुने अपेक्षा छ । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चार्लसद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।

महारानी एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो । बेलायत सरकारले एलिजावेथको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू