आइतबार, जेठ ६, २०८१
10:40 | १५:२५

ग्रीनवीच बरोमा महारानीको स्मृतिसभा, नेपाली पन्डितको मन्त्रोच्चारणसहित प्रार्थना

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२२

लन्डन। गतसाता स्वर्गारोहण भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको स्मृतिमा लन्डनको रोयल बरो अफ ग्रीनवीचमा ‘मल्टी फेथ’ प्रार्थनासभा गरिएको छ।

विहीबार साँझ वुल्लीच टाउन हलमा हिन्दू, मुस्लिम, शिख, क्रिश्चियन, जुइससहितका बहुधार्मिक समुदायको सहभागितामा महारानीको मृत आत्माको चिर शान्तिको कामना गर्दै संयुक्त प्रार्थनासभा गरिएको हो।

रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर लियो फ्लेचरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशुपतिनाथ मन्दिर प्लमस्टिडका पण्डित निलहरि घिमिरेले सनातन हिन्दू संस्कारअनुसार मन्त्रोच्चारण गर्दै प्रार्थना गराएका थिए।

त्यस अवसरमा स्थानीय हिन्दू मन्दिर, वुल्लीच गुरुद्वार, ग्रीनवीच स्लामिक सेन्टर, क्याटफोर्ड एन्ड ग्रीनवीच चर्चलगयतका धार्मिक केन्द्रका प्रतिनिधिबाट पनि आ-आफ्नै संस्कारअनुसारको प्रार्थना गरिएको थियो। 

प्रार्थनासभालाई सम्बोधन गर्दै मेयर फ्लेचरले स्वर्गीय एलिजावेथलाई सबै धर्म, आस्था र सम्प्रदायका जनतालाई समान स्तरबाट संरक्षण गर्ने महारानीका रुपमा स्मरण गरे।

ग्रीनवीचमा कयौं महत्वपूर्ण अवसरहरुमा महारानी सरिक भएको उल्लेख गर्दै उनले महारानी र रोयल बरो अफ ग्रीनवीचबीच सधैं निकट र विशेष सम्बन्ध रहेको चर्चा गरे। 

बरोमा नेपाली मूलका काउन्सिलर जीत रानाभाटले स्वर्गीय महारानीमा समर्पित गरी बरोद्वारा आयोजित प्रार्थनासभामा पशुपतिनाथ मन्दिरका पण्डितको पनि सहभागिता गौरवको विषय भएको बताए।

‘ग्रीनवीच बरोको औपचारिक कार्यक्रममा आज पहिलोपटक हाम्रो मन्दिरका पण्डितज्यूबाट मन्त्रोच्चारणसहित प्रार्थना भएको छ। यसले स्थानीय बरोमा हाम्रो नेपाली समुदायको उपस्थितिबारे निकै सशक्त सन्देश दिएको मलाई विश्वास छ’, रानाभाटले भने।

कार्यक्रममा ग्रीनवीच बरोका डेपुटी लेफ्टिनेन्ट, काउन्सिल लिडर, काउन्सिलरहरुसहित बेलायती सेना तथा प्रहरीका अधिकारी, स्थानीय समुदायका अगुवासमेत करिब सय जनाको सहभागिता थियो। 

सो अवसरमा नेपाली समुदायबाट जिगेसा अध्यक्ष हरिकुमार मल्ल र पूर्व अध्यक्ष लीलादेवी गुरुङ, व्यवसायी सुरोज मास्केसहितका अभियन्ताहरु सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू