मंगलबार, वैशाख ११, २०८१
13:23 | १८:०८

एनआरएनए यूके अध्यक्ष गाहामगरलाई पदमुक्त गर्दै आइसीसीले पठायो पत्र

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२२

लन्डन-गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले यूके राष्ट्रिय समन्वय परिषद अध्यक्ष प्रेम गाहामगरलाई पदमुक्त गरेको छ।  

आइसीसीका महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलले मंगलबार गाहामगरलाई एक पत्र लेख्दै पदमुक्त गरिएको जानकारी गराएका छन्।

‘तपाईंका क्रियाकलापहरु पूर्ण रुपमा संघको विधान उद्धेश्य प्रतिकुल रहेकाले आजैका मितिदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदबाट मुक्त गरिएको जानकारी गराइन्छ’, पत्रमा भनिएको छ।  

अध्यक्ष गाहामगर संघको विधानविपरित विवादास्पद, गैरजिम्मेवार र आवाञ्छित क्रियाकलापमा संलग्न भएको आरोपसहित कार्यसमितिको बहुमतले कारबाहीको लागि गरेको सिफारिशकै आधारमा कारबाही गरिएको पत्रमा जनाइएको छ। आइसीसीलाई प्राप्त पत्रको अध्ययन गर्दा कारबाही गर्नुपर्ने पर्याप्त आधार र कारणहरु देखिएकाले उक्त पत्रलाई अनुमोदन गरिएको उल्लेख छ।  

पत्रमा गैरआवासीय नेपाली संघका नाममा कुनै पनि गतिविधि नगर्न, नगराउन तथा संस्थाका सम्पूर्ण कागजात, सम्पत्ति र सामग्री दुई साताभित्र कार्यसमितिलाई बुझाउन भनिएको छ।

यता, अध्यक्ष गाहामगरले भने नेपाली लिंकसंगको संवादमा बेलायतवासी नेपालीहरुको मतबाट निर्वाचित अध्यक्षलाई पदमुक्त गर्ने आइसीसीको प्रयासलाई ‘हास्यास्पद’ भनेका छन् । ‘जनताको मत पाएर निर्वाचित अध्यक्षलाई छ महिने टीके अध्यक्षले कसरी हटाउन सक्छ ?’ उनको प्रश्न छ ।

गाहामगरले वास्तविक लडाई अब शुरु हुने भन्दै आफ्नो सहमतिबिना केन्द्रमा पठाइएको रकम फिर्ता गराउन कानूनी बाटो अपनाउने अडान व्यक्त गरेका छन् ।

एनआरएनए यूके बेलायतको कानूनअनुसार दर्ता भएर चलेको इन्डिपेन्डेन्ट संस्था भएकाले आइसीसीको अनावश्यक हस्तक्षेपले कुनै असर नगर्ने उनको भनाइ छ।

आइसीसीको पत्र: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू