आइतबार, जेठ ६, २०८१
10:28 | १५:१३

अल्डरसट शिव मन्दिरमा नवदुर्गा अवधिभर विशेष पूजा सञ्चालन हुने

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२२

फाइल तस्विर- शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरद्वारा सञ्चालित शिव मन्दिर, अल्डरसट

लन्डन- बेलायतको अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरद्वारा सञ्चालित शिव मन्दिरमा बडादशैंको अवसरमा नवदुर्गाको विशेष पूजा-अर्चना गरिने भएको छ।

विगतका वर्षहरुमा जस्तै नवदुर्गाको अवधिभर हरेक दिन विविध धार्मिक कार्यक्रमसहित पूजा अर्चना गरिने सेन्टरले जनाएको छ। जुन कार्यक्रमको संयोजन सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई र कार्यसमिति सदस्य किशोर गुरुङले गर्दैछन्।

सेन्टरका अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा बसेको बैठकले नवदुर्गा विशेष पूजाआजालाई निरन्तरता दिने निर्णय गरेको हो।  

यही सेप्टेम्बर २६ तारिख सोमबार घटस्थापनाको दिनबाट शुरु  हुने नवदुर्गा पूजा ९ दिनसम्म चल्नेछ। नवदुर्गाको पहिलो दिन घटस्थापनाको विशेष पूजा गरिनेछ भने द्वीतीयाका दिनमा मन्दिरमै जमरा राखिनेछ । 

कार्यक्रम संयोजक एवम् सेन्टर उपाध्यक्ष विक्रम भट्टराईका अनुसार नवदुर्गा पूजाअन्तर्गत शक्तिका स्वरूप नौ वटा देवीमध्ये हरेक दिन छुट्टाछुट्टै देवीको पुजा आरधना गरिनेछ। जसका लागि एक नियमित कर्तासंग स्थानीय तथा वरपरका नेपाली र अन्य समुदायका लब्धप्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रित कर्ताको रुपमा निम्त्याउने कार्यक्रम छ। 

नवदुर्गा पूजाको सञ्चालन पण्डित राम पाण्डेयले गर्नेछन्। घटस्थापनाका दिनबाट महानवमीसम्म सबै भक्तजनहरुका लागि मन्दिर खुला रहनेछ ।

नवदुर्गाको सातौँ दिन अक्टोबर दुई तारिखका दिन फूलपातीको विशेष कार्यक्रम हुनेछ। नौमती बाजागाजासहित स्थानीय म्यानरपार्कबाट फूलपाती ल्याएर मन्दिरमा भित्र्याइनेछ। 

फूलपातीको भोलिपल्ट कालरात्रीको साँझमा विषेश पूजा अर्चना गर्दै मध्यरातमा काम, क्रोध,लोभ र मोह रुपी बली दिइनेछ । 

बडादशैंको मुख्य दिन बुधबार अक्टोबर ५ तारिखका दिन बिहान ९ बजेदेखि नै मन्दिरमा टीका जमरा वितरण गरिनेछ। मन्दिरबाट टीका, जमरा लिएर आफ्नै घरमा दशैं मनाउन पनि सकिनेछ।

हरेक वर्ष गरिने शिव मन्दिर अल्डरसटको विषेश नवदुर्गा पूजा कार्यक्रम व्यवस्थापनको सहयोगार्थ मन्दिरका संरक्षक एवम् एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री र रीता क्षेत्रीले १ हजार पाउण्ड सहयोग गर्ने भएका छन्।  

सनातन संस्कृतिमा आस्था राख्नेहरुको मात्रै नभइ सबै नेपालीको साझा पर्वका रुपमा स्थापित बडादशैंको अवसरमा हुने विशेष कार्यक्रममा बेलायतवासी सबै नेपालीलाई सहभागिताको लागि मन्दिरका तर्फबाट आव्हान गरिएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू