आइतबार, जेठ ६, २०८१
09:36 | १४:२१

बेलायती राजामाथि भारी जिम्मेवारी, महारानीको प्रेरणादायी उदाहरण पछ्याउने प्रण

रासस-सिन्ह्वा सेप्टेम्बर १२, २०२२

तस्बिर एएफपी

लन्डन, २७ भदौ –बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिए ।

भेला भएका महानुभावहरूलाई सम्बोधनका क्रममा राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भने, “मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको थियो ।”

‘मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा असमान थियो । दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु’, उनले भने, ‘जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ । यी जिम्मेवारीहरू सम्हाल्दै म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।’

उनले क्राउन इस्टेटलगायत वंशाणुगत राजस्व समर्पण गर्ने परम्परालाई निरन्तरता दिन आफ्नो इच्छा र मनसाय दोहोरयाए ।

गत हप्ता भएको ९६ वर्षीया महारानीको निधनले सात दशक लामो शासनको अन्त्य गरेको छ । रानी उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक बनेकी थिइन् ।

बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जलिको ओइरो लागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू