आइतबार, जेठ ६, २०८१
13:20 | १८:०५

माल्टामा लन्डन दूतावासको कन्सुलर सेवा, सेवाग्राहीको भीड

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२२

लन्डन–लन्डनस्थित नेपाली दूतावासले माल्टाका नेपालीहरुमाझ कन्सुलर सेवा प्रदान गरेको छ। 

एनआरएनए माल्टाको आयोजनामा आइतबार माल्टामा कन्सुलरसम्बन्धि सम्पूर्ण सेवा प्रदान गरिएको दूतावासले जनाएको छ।

त्यस अवसरमा करिब ७० जना स्थानीय नेपालीहरुले प्रत्यक्ष लाभ लिएका थिए। सेवाग्राहीमध्ये अधिकांश पासपोर्टको लागि फारम भर्नेहरु थिए भने केही वारेसनामा बनाउन आएका थिए। त्यस्तै, कयौंले एनआरएनए कार्डसम्बन्धमा चासो राखेर परामर्श लिएको पनि दूतावासले जानकारी दिएको छ।

सेवाग्राहीको भीड लागेपछि निर्धारित समयभन्दा पनि अबेर रातीसम्मै सेवा दिइएको थियो।

दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र एट्याची गजेन्द्र राई कन्सुलर सेवा उपलब्ध गराउन माल्टा पुगेका थिए।

दूतावासका अधिकारीलाई माल्टामा स्वागत गर्दै एनआरएनएका पदाधिकारीहरु।

माल्टावासी नेपालीलाई दूतावासबाट प्रदान हुने सेवाको पहुँच सहज बनाउने उद्धेश्यले हरेक छ महिनामा माल्टा पुग्ने योजना दूतावासले बनाएको छ।

नेपाल सरकारले बेलायतका लागि नेपाली राजदूतलाई नै माल्टाको लागि पनि जिम्मेवारी दिंदै आएको छ।  

कार्यक्रमको आयोजक एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले एकै दिन ठूलो संख्यामा स्थानीय नेपालीहरुले दूतावासको सेवा पाएकोमा खुशी व्यक्त गरे। माल्टाका नेपालीको सुविधाका लागि लन्डन दूतावासबाट प्राप्त सहयोगप्रति उनले आभार प्रकट गरे।

माल्टाका कन्सुलर सेवा निर्देशकसँग छलफल 

यसैबीच, उपनियोग प्रमुख रोशन खनालले माल्टाको परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवाका निर्देशक जोन बुट्टीजेजलाई भेटेकी छन्।

सोमबार बिहान माल्टाको परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच स्थानीय नेपालीहरुलाई आवश्यक कन्सुलर सेवा सहज रुपमा उपलब्ध गराउनेबारे छलफल भएको थियो।

‘माल्टामा नेपालीहरुको संख्या बढ्दो क्रममा छ। उहाँहरुको सुविधाका लागि आवश्यक सहजिकरण गरिदिन मैले त्यहाँको कन्सुलर सेवा निर्देशकलाई आग्रह गरें’, भेटपछि उपनियोग प्रमुख खनालले नेपाली लिंकलाई भनिन्, ‘सोही अवसरमा दुई देशबीच व्यापार र लगानीका सम्भावनाहरु कसरी बिस्तार गर्न सकिन्छ भनेर पनि हामीले छलफल गर्‍यौँ।’

त्यस अवसरमा दूतावासका एट्याची गजेन्द्र राई र माल्टा कन्सुलर सेवाका केही कर्मचारी पनि सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू