शुक्रबार, वैशाख १४, २०८१
18:17 | २३:०२

विशेष समारोहबीच चार्ल्स तृतीय बेलायतको नयाँ राजा घोषित

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२२

तस्बिर- एएफपी

लन्डन- राजा चार्ल्स् तृतीय औपचारिक रुपमा बेलायतको नयाँ राजा घोषित भएका छन्।  

विहीबार आमा महारानी एलिजावेथ द्वितीयको निधनलगत्तै पहिलो उत्तराधिकारीको रुपमा सिधै राजा बनेका चार्ल्सलाई शनिबार विधिपूर्वक राजा घोषणा गरिएको हो।

शनिबार बिहान लन्डनमा दुई छुट्टै समारोह आयोजना गरी चार्ल्सलाई राजा घोषणा गरिएको थियो।

सो अवसरमा राजा चार्ल्सले नयाँ जिम्मेवारीका लागि शपथ समेत लिएका छन्। त्यसलगत्तै छोटो मन्तव्य दिएका उनले आफ्नी आमाको उदाहरण पछ्याउने प्रतिवद्धता गरेका छन्।

उनले राजसिंहासन सम्हाल्दै दिवंगत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे ।

राष्ट्रका नाममा गरेको सम्बोधनमा नवनरेश चार्ल्सले ‘मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु’ भनेका थिए ।

 

समारोहमा बेलायतका छ वटै जिवित पूर्वप्रधानमन्त्रीहरु, न्यायधिशहरु लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।  

आइतबार वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्याण्डमा पनि विशेष समारोहहरु आयोजना गरी उनलाई राजा घोषणा गरिनेछ।

विधिवत रुपमा गरिएको घोषणासंगै अब चार्ल्स् आधिकारिक राजा बनेका छन्।  

७३ वर्षको उमेरमा राज्यरोहण गरेका चार्ल्स् संसारमै सबैभन्दा बढी उमेरमा राजा बनेका छन्। महारानी एलिजावेथ द्वीतीयाको ७० वर्ष लामो शासनकालमा उनी राजगद्धीको लाइनमा पहिलो स्थानमा थिए।

चार्ल्स राजा बनेसँगै उनकी पत्नी ७५ वर्षीया क्यामिला रानी बनेकी छन्। चार्ल्सपुत्र प्रिन्स विलियम अब उनका पहिलो उत्तराधिकारी बनेका छन्।

राजा चार्ल्स् । तस्बिर एएफपी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू