बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने


नयाँ दिल्ली- बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।
भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन्।
‘उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ’, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।
भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने उनको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गरेका थिए ।
प्रधानमन्त्री मोदीले बेलायती महारानीलाई प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गरेका छन्। उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ ।
सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । ‘उहाँको त्यो आत्मियता, स्नेह र अभिभावकत्व मैले कहिले भुल्न सक्दिन”, प्रधानमन्त्री मोदीले लेखेका छन्।
महारानीको निधनप्रति विश्वका अन्य देशका नेताहरुले पनि शोक व्यक्त गर्नुभएको छ भने अन्य देशहरुले पनि शोक मनाउने निर्णय गरेका छन्।
बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतको रानीको रुपमा ७० वर्षभन्दा बढी समय भूमिका निर्वाह गरिन्। उनको निधनसँगै छोरा चार्ल्स् तृतीय बेलायतको राजा बनेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


