सोमबार, वैशाख २४, २०८१
18:38 | २३:२३

बिसीसी यूकेद्वारा ३ दिने चिल्ड्रेन समर क्याम्प

नेपाली लिङ्क अगस्ट ३१, २०२२

लन्डन – बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले आयोजना गरेको ३ दिने चिल्ड्रेन समर क्याम्प गत २६ अगष्ट शुक्रबार सम्पन्न भएको छ । गत २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प गरिएको हो । 

बेलायतमा रहेका नेपाली बालबालिकालाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायत विषयमा जानकारी गराउने उद्देश्यका साथ सो क्याम्प आयोजना गरिएको बीसीसी यूके प्रमुख सल्लाहकार एवं समर क्याम्प संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनले बिसीसी यूकेले गत बर्षबाट उक्त चिल्ड्रेन क्याम्प शुरु गरेको स्मरण गर्दै यसलाई निरन्तरता दिने बताए । 


उक्त समर क्याम्पमा ३८ जना बालबालिकाले भाग लिएका थिए । उनीहरुलाई बिसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेनले बुद्धिजम, सामबुटा लिपी, दयालु भावबारे जानकारी दिएका थिए । त्यस्तै, लोपन नोर्बु ग्याछोले समथा ध्यान, चार आर्य सत्य, पंचशील, दैनिक पुजा विधि र अष्ट मंगलबारे सिकाएका थिए । 

बीसीसी यूके प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले बीसीसी यूकेबारे जानकारी गराउँदै गुम्बा परिक्रमा तथा दर्शन, विभिन्न मनोरन्जनात्मक खेल लगायत बौद्ध दर्शनसंग सम्बन्धित विभिन्न चलचित्रहरु देखाएका थिए । बीसीसी यूके आमा सचिव एवं प्रवन्धक शारदा गुरुङले योगा सिकाएकी थिइन्   

कार्यक्रमको अन्त्यमा बीसीसी यूकेका धर्म टुल्कु जिग्मे सामतेन, लोपन नोर्बु, अध्यक्ष धर्म तामाङ, प्रमुख सल्लाहकार मेजर गुरुङ, महासचिव क्याप्टेन देब घलेलगायतले सहभागी बालबालिकालाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरे । 

गत वर्ष २९ जना बालबालिकाले भाग लिएको स्मरण गर्दै बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले यसपटक संख्यात्मक रुपमा भाग लिनेको संख्यामा वृद्धि हुनुका साथसाथै सहभागीहरुले बौद्ध दर्शनबारे बढी चासो लिएको, मनमा लागेका जिज्ञासाहरु सोधेको र ध्यानपूर्वक श्रवण गरेकोमा खुशी व्यक्त गरे ।  

बालबालिकाका अभिभावकहरुको समेत उपस्थिति रहेको उक्त ३ दिने क्याम्पमा अभिभावकहरुले क्याम्प सञ्चालन सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेका थिए । 

बौद्ध धर्मसंग सम्बन्धित धार्मिक पूजापाठ, बौद्ध दर्शन, सामबुटा लिपीलगायतका कक्षाहरु समेत सञ्चालन गर्दै आएको बीसीसी यूकेले आउने डिसेम्बरदेखि नेपाली कक्षा समेत संचालन गर्ने बताएको छ । –पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू