मंगलबार, वैशाख २५, २०८१
03:55 | ०८:४०

बेलायतका नेपाली निर्देशकको फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा

नेपाली लिङ्क अगस्ट २७, २०२२

लन्डन । बेलायतवासी नेपाली निर्देशक ललित भुसालले निर्देशन गरेको अंग्रेजी फिल्म ‘क्रस्ड वीङ्स’ को अन्तर्राष्ट्रिय फिल्म महोत्सव यात्रा जारी छ । 

कयौं अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल उक्त फिल्म यही सेप्टेम्बर ११ का दिन मिसिगन अमेरिकामा हुने रोयल स्टार फिल्म फेस्टिबलमा छनोट भएको छ । 

उक्त चलचित्र अहिलेसम्म ५० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आधिकारिक छनोट भइ विभिन्न विद्यामा पुरस्कृत पनि भएको छ । 

निर्देशक भुसालले सानै छंदा वालिकाको संवेदनशील यौनाङ्ग  काटिदिने कुप्रथासंग सम्बन्धित यो विश्वकै पहिलो अंग्रेजी चलचित्र भएको बताए ।  

चलचित्रले सास्कृतिक कुरीतिको नाममा विश्वभरि व्यापकरूपमा फैलिंदै गएको वालशोषणको कठोर यथार्थतर्फ आंखा खोल्न वाध्य पार्ने भुसालको दावी छ । 

बेलायत, भारत र नेपालका आकर्षक स्थानमा छायांकन गरिएको उक्त मनमोहक चलचित्रको कथा एसियाको कुनै गाउंमा हुर्किरहेकी सानी वालिका रियाको दुर्भाग्यपूर्ण जीवनयात्रा वरपर घुम्छ । उनी सात वर्षकी हुंदा कुरीतिको शिकार हुन्छिन् । रिया जस्ता अनेकौं देशका पीडित वालिकाको सामूहिक तीतो भोगाइ र अनुभवमा आधारित उक्त चलचित्रको कथाले वाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिक अनि मानसिक असर उजागर गरेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले २० करोड भन्दा बढी महिला र वालिका जवर्र्जस्ती यो समस्याबाट गुज्रिनु परेको छ । तिनीहरूमध्ये कतिले ज्यान पनि गुमाएका छन् । बेलैमा कानूनी तरिकाले रोक्न नसके सो कुप्रथाका कारण ज्यान गुमाउने महिला र ससाना वालिकाको संख्या आगामी १५ वर्षमा निकै बढ्ने आकलन भुसालको छ ।  

‘मैले यो कुसंस्कारको विषयमा कुनै पनि चलचित्र बनेको थाहा पाइन । एसियाको करोडौं डलरको चलचित्र उद्योग र पश्चिमा चलचित्र उद्योगले पनि यसलाई समटेको देखिन । त्यसपछि मैले यसबारे गहिरो अनसुन्धानपश्चात चलचित्र थालनी गरें’, उनले सुनाए । 

निर्देशक ललित भुसाल

चलचित्रमार्फत सामाजिक तथा सांस्कृतिक कुरीतिविरुद्ध आवाज उठाउनु आफ्नो उद्देश्य रहेको बताउंछन् ललित । नेपालमा समेत यस खालको कुरीति रहेको हुनसक्ने उनको विश्वास छ । 

चलचित्र बनाउनुअघि भुसालले विश्वका विभिन्न ठाउंका महिलासंग अन्तर्वार्ता लिएका थिए । यस अलवा छिमेकी राष्ट्र भारतको बोहरा मुस्लिम समुदायमा पीडित भएर बांचेकाको अनुभव पनि सुनेका थिए । वाल्यकालमा धेरै महिलाको कुटाइ र दुःख भोगाइको वृत्तान्त सुनेपछि ललितलाई एउटा चलचित्रको माध्यमबाट यी महिला र ती समाजका बालिकाहरुको आवाज प्रस्तुत गर्ने इच्छा जागेको थियो ।

चलचित्रमा नेपालसहित ससांरभरका स्थापित र आकांक्षी झण्डै ५० जना कलाकार समेटिएका निर्देशक भुसालले जनाए । 

क्याम बुद्ध फिल्म्स लिमिटेडले निर्माण गरेको उक्त फिल्मले पेरिसमा आयोजित इन्टरनेशनल चिल्ड्रेन केयर फिल्म फेस्टिबल ०२२ मा अडियन्स अवार्ड, एडोल्फ जुकोर इन्टरनेशनल फिल्म फेस्टिबल हंगेरी ०२२ मा अडियन्स अवार्ड, द ग्लेडिएटर फिल्म फेस्टिवल इस्तानबुल टर्की २०२१ मा वेष्ट ड्रामा फिल्म अवार्ड, सान डिएगो मूभी अवार्डस् अमेरिका २०२२ मा वेष्ट फिचर फिल्म, ब्रिज फेस्ट भ्यानकोभर क्यानडा २०२१ मा वेष्ट फिल्म अवार्ड, गोल्डेन हार्भेष्ट फिल्म फेस्टिबल जापान २०२१ मा वेष्ट फिचर फिल्म अवार्ड, ग्लोवल इण्डी फिल्म फेस्टिबल स्कटल्याण्ड यूके २०२२ मा ब्रोन्ज अवार्ड, ड्रामाटिका फिल्म फेस्टिबल बार्सिलोना स्पेन २०२१ मा वेष्ट ड्रामा फिल्म अवार्ड लगायत कयौं सम्मान प्राप्त गरिसकेको छ । 

उक्त फिल्मका कलाकार र प्राविधिकले पनि विभिन्न अन्तर्राट्रिय विद्यामा पुरस्कार पाएका छन् । 

बुटवल स्थायी घर भएका ललित भारतीय सैनिक बुबाका सुपुत्र हुन् । उनी भारत हुंदै सन् २००० देखि बेलायतमा छन् । सन् १९९४ ताका बलिउडमा निकै संघर्ष गरेको स्मरण गर्छन् उनी । उनले केही समय मोडलिङ पनि गरे । 

सन् २००३ तिर एउटा बलिउड फिल्ममा अभिनय गरेपनि उक्त फिल्म रिलिज नभएपछि विक्षिप्त बनेका उनी आफैंले केही गरौं भन्ने अठोटका साथ निर्देशनमा होमिएका हुन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू