मंगलबार, वैशाख २५, २०८१
05:19 | १०:०४

लन्डनमा नर्सहरुले मनाए १४ औं वार्षिकोत्सव, साथमा तीज धमाका (फोटो फिचर)

नेपाली लिङ्क अगस्ट २५, २०२२

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले स्थापनाको १४ औं वार्षिकोत्सव तथा हरितालिका तीज कार्यक्रम गरेको छ ।

ब्लु रुम स्पोर्टस् सेन्टरमा सप्ताहन्त आयोजित विशेष समारोहमा नर्सहरुले केक काटेर १४ औं वार्षिकोत्सवको खुशीयाली सांटे । सहभागीले एसोसिएसनले व्यवस्था गरेको निशुल्क दर पनि खाए ।

कार्यक्रममा एसोसिएसन आवद्ध पदाधिकारी र सदस्यहरु मात्र होइन्, गैर नर्स, बेलायतमा नर्सिङ अध्ययनरत विद्यार्थी, केयरर एवं डेन्टल नर्सहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथी राजदूत पत्नी सुनिता आचार्य र विशेष अतिथी थिइन् दूतावासकी उपनियोग प्रमुख रोशन खनाल । उनीहरुले तीज र वार्षिकोत्सवको शुभकामना दिए ।

सो अवसरमा एसोसिएसन अध्यक्ष सुनिता गौतमले धन्यवाद व्यक्त गर्दै संस्थाको झण्डै डेढ दशक लामो उतारचढाव, यसले गरेका सामाजिक कार्य र नेपाली नर्सहरुको हकहितका सवालमा भएका कामबारे प्रकाश पारेकी थिइन् ।

एसोसिएसनले नेपालको सिन्धुपाल्चोक र गोरखामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण देखि कोभिडका बेला भेन्टिलेटर हस्तान्तरण एवं स्वास्थ्य सचेतना कार्यक्रम पनि गरेको थियो । साथै संस्थाले विकट जुम्लास्थित पत्थरखोलामा प्रसुति केन्द्र निर्माण गरिदिएको छ ।

एसोसिएसनले बेलायतमा निशुल्क स्वास्थ्य शिविर, नर्सिङ अध्ययनरत विद्यार्थीहरुका लागि करिअर एड्भाइस, नृत्य कक्षा आदि पनि गरेको छ ।

कार्यक्रममा गायक-गायिका सपनकुमार राई, दीपक थापा र शर्मिला बर्देवाले सुमधुर गायन प्रस्तुत गरेका थिए भने सहभागी नर्सहरु तीज गीतमा धित मरुन्जेल नाचे । गायिका बर्देवा पेशाले नर्स हुन् ।

कार्यक्रममा एसोसिएसनकी उपाध्यक्ष रस्मिता दर्लामीले स्वागत मन्तव्य र बिनु लामिछानेले हेल्थ एण्ड सेफ्टी ब्रीफ गरेकी थिइन् ।

सो अवसरमा आजीवन र साधारण सदस्यहरुलाई सर्टिफिकेट वितरण तथा कोभिड महामारीका बेला दिवंगत एनएचएस हिरोहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम मोडल सुस्मिता थापा र कोषाध्यक्ष अप्सरा सन्जेलले संचालन गरेका थिए ।

तस्विरहरुः कुशल श्रेष्ठ (के के फिल्मस् एण्ड मिडिया)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू