सोमबार, वैशाख २४, २०८१
16:53 | २१:३८

क्षेत्री समाज यूकेको वार्षिक भेलामा तीजको रौनक

नेपाली लिङ्क अगस्ट २३, २०२२

लन्डन । क्षेत्री समाज यूकेले विशेष कार्यक्रमसहित वार्षिक भेला गरेको छ । आइतबार फार्नबरोको स्यामुएल कोडी स्पोर्टस् कलेज हलमा सम्पन्न भेलामा समाजका ट्रष्टी, सल्लाहकारसहित बेलायतको क्षेत्री समुदायका तीन सय भन्दा बढीको सहभागिता रह्यो ।

प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सहभागी थिए । नेपाली दूतावासका मिलिटरी एटाची रत्न बहादुर गोदार तथा नायक निखिल उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको पनि सहभागिता थियो ।

समाजका अध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष महेन्द्र केसीले कार्यक्रमको संयोजन तथा व्यवस्थापनसम्बन्धि जिम्मेवारी लिएका थिए ।

समाजका महासचिव दीर्घ केसीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष श्रीमति श्रद्धा थापाले स्वागत मन्तव्य दिएकी थिइन् । विगतका कार्यक्रममा बढी भाषण हुने भएकाले यसपटक बोल्ने वक्ता सिमित गरिएको र कार्यक्रमको बीचमा सांगीतिक प्रस्तुति राखिएको महासचिव केसीले बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष एवम् सल्लाहकार प्रेम खड्का, सल्लाहकार तथा गैर आवासीय नेपाली संघका उप-महासचिव रामशरण सिम्खडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजमा उत्कृष्ट काम गरेका विभिन्न व्यक्तिलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । यसैगरी समाजमा आजीवन सदस्य बनेका थप दश परिवारलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरियो ।

औपचारिक सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत आचार्यले विभिन्न जातजातीबीच समन्वय गरेर अघि बढ्न सुझाव दिए । स्थापनाको लामो इतिहास बोकेको क्षेत्री समाजले राम्रो काम गर्नेलाई थप हौसलास्वरूप सम्मान तथा कदरपत्र प्रदान गरेकोमा आचार्यले प्रशंसा गरे।

क्षेत्री समाजका अध्यक्ष यज्ञ क्षेत्रीले समाजले गरेका काम अवगत गराउंदै परिआएको बखत सहयोगका लागि आफूहरु तयार रहेको बताए । देशका लागि जीवन बलिदान दिने अमरसिंह थापालगायत पितृ पुर्खालाई स्मरण गर्दै पूर्खाको मान सम्मानलाई निरन्तरता दिने दायित्व आफूहरुमा रहेको क्षेत्रीले बताए ।

क्षेत्रीहरुको इतिहास र परम्परा संरक्षण र पुस्तान्तरण गर्न सम्पूर्ण क्षेत्रीहरु एउटै छातामुनी रहनुपर्ने बताउंदै उनले कार्यक्रमको पहिलो चरण समापन गरेका थिए ।

औपचारिक सत्र समापनपछि विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुत गरिएको थियो । नेपाली नारीहरुको हरितालिका तीज नजिक आएका बेला कार्यक्रम पूर्ण रुपमा तीजमय बनेको थियो । विभिन्न तीज गीतमा दिदीबहिनीले नाचेर मनोरन्जन लिए । विशेषगरि युवा पुस्तालाई समेट्ने उद्देश्यले स्थानीय ‘दाजुभाइ ब्यान्ड’ का गायक अमित मगरको प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो ।

त्यस अवसरमा लोकदोहोरीका राष्ट्रिय कलाकारहरु अस्मिता डल्लाकोटी, विशाल रायमाझी, चन्द्रा कर्की, राजन कार्की लगायतले सांगीतिक प्रस्तुति दिए । कार्यक्रममा नेपालबाट आएकी मोडल एवम् नृत्यांगना रीना थापामगरले आकर्षक नृत्यहरु देखाएकी थिइन्। सो अवसरमा स्थानीय कलाकारहरु प्रिसा खत्री र सरोज जीसीले पनि आफ्नो नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारसहितको ‘लक्की ड्र’ पनि राखिएको थियो । ‘लक्की ड्र’ को संयोजन महिला संयोजक माया केसीले गरेकी थिइन् । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू