मंगलबार, वैशाख ४, २०८१
08:04 | १२:४९

बेलायतले एजेन्डा मोड्न खोजेपछि गोर्खा वार्ताको टिओआर बैठक निष्कर्षहीन

नेपाली लिङ्क अगस्ट २२, २०२२

सोमबार बैठकस्थल बेलायती रक्षा मन्त्रालयबाहिर गोर्खाहरु ।

लन्डन–बेलायत र नेपाल सरकारबीच गोर्खा मुद्धामा हुन लागेको बहुप्रतिक्षित वार्ताको टिओआर (टर्म्स अफ रिफरेन्स) निर्माणका लागि बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सोमबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बसेको बैठकमा बेलायती पक्षले वार्ताको एजेन्डा नै मोड्न खोजेपछि बैठक कुनै निष्कर्षबिनै टुंगिएको गोर्खाहरुले जनाएका छन्।

वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्ने जिम्मा पाएका मेजर जुद्धबहादुर गुरुङले वार्ताको एजेन्डामै बेलायत इमान्दार नदेखिएपछि बैठकमा टिओआरबारे छलफल अघि बढ्न नसकेको जनाए।

‘पूर्व गोर्खाहरुले महत्वका साथ उठाएका समान पेन्सन र अधिकार प्राप्तिजस्ता मुख्य मागलाई बेवास्ता गरेर बेलायती पक्षले बेलायतमै रहेका गोर्खाहरुको वेल्फेयरसम्बन्धि एजेन्डा लिएर आएपछि हामीले सिधै अस्वीकार गरेका छौं। यसअघि जुन एजेन्डामा वार्ता गर्ने सहमति गरिएको छ, त्यही एजेन्डा पन्छाएर वार्ता हुन सक्दैन,’ गुरुङले नेपाली लिंकलाई भने।

बैठकमा गोर्खा आन्दोलन के गरे रोकिन्छ भन्ने बेलायती प्रतिनिधिको प्रश्नमा मेजर गुरुङले यो बेलायत सरकारको कदममा निर्भर हुने र उसले गम्भीर रुपमा नलिए झन् आन्दोलन चर्कने बताएपछि उनीहरु मौन बसेका थिए ।

बैठकमा सहभागी दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पहिलो बैठकमै टिओआर टुंगो लाग्न नसकेपनि छलफल अघि बढ्नुलाई सकारात्मक मान्नुपर्ने बताइन्।

सेप्टेम्बर पहिलो साताभित्रै टिओआरलाई अन्तिम रुप दिएर वार्ता शुरु हुने वातावरण बनाउनमा आफूहरुको जोड रहेको जानकारी दिंदै उनले बेलायती पक्ष पनि थप आन्तरिक छलफलपछि अर्को बैठकमा आउँदा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरिन्। 

वार्ताको क्रममा नेगोसिएसन स्वभाविक हुने भएपनि नेपाल सरकार गोर्खा वार्ता सक्दो छिटो निष्कर्षमा पुर्‍याउन तत्पर रहेकोले सोहीअनुसार बेलायत सरकारलाई घच्घच्याउने काम जारी राखेको खनालको भनाइ छ।  

आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न कयौं प्रयास भए पनि अहिलेसम्म निकास निस्किएको छैन ।

बैठकमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदार, गोर्खाहरुको तर्फबाट वार्ता प्रतिनिधि  मेजर जुद्धबहादुर गुरुङ र बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका तीन अधिकारी सहभागी थिए।

आगामी सेप्टेम्बर ५ मा बेलायतमा नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपूर्व फेरि बैठक बस्ने सहमति भएको जानकारी मेजर गुरुङले गराए।

यसअघि तयारी छलफलका क्रममा सेप्टेम्बर महिनाभित्र वार्ता शुरु गर्ने र केही चरणको वार्तापछि जनवरीसम्म मुद्धा टुंगोमा पुर्‍याउन बेलायतले प्रतिवद्धता जनाएको थियो।तर, वार्ता शुरु हुन नपाउंदै टिओआर बैठकमै मत बाझिएपछि वार्ता थप आशंकाको घेरामा परेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू