शनिबार, वैशाख १५, २०८१
06:07 | १०:५२

बेलायतमा निर्मित नेपाली चलचित्र ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक

नेपाली लिङ्क अगस्ट १९, २०२२

लन्डन । बेलायतमा निर्मित नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को पहिलो ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सांझ लण्डनमा एक विशेष कार्यक्रम गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सोही अवसरमा चलचित्रमा समावेश अन्जु पन्त र सागर आलेको स्वर रहेको ‘कति साह्रो सुहाएको’ गीतको श्रव्यदृश्य पनि सार्वजनिक गरियो । उक्त गीतमा बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुर्गा बहादुर सुवेदीसमेत देखिन्छन् । सुवेदी हाल जापानका लागि राजदूत छन् ।

लण्डनका साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित यस चलचित्रमा पटकथा, सम्वाद र निर्देशन नाट्यकर्मी सनम कुमार बैरागको छ । नेपालबाट प्राविधिक ल्याएर झन्डै ४० दिन बेलायतको स्कटल्याण्ड आसपासमा फिल्म छायांकन गरिएको थियो । 

कार्यक्रममा निर्देशक सनम कुमार बैरागले सन् २०१९ मा नै चलचित्र सुटिङ थालिएपनि कोरोना महामारीका कारण दर्शकसमक्ष पुरयाउन ढिला भएको बताए । 

सो क्रममा साहित्यकार स्व. इश्वर मानन्धरसँग कैदीको पत्रलाई जीवन्तता दिने सम्बन्धमा भएको अधुरो संवाददेखि चलचित्र निर्माण अवधिभर भएका तितामिठा अनुभको बारेमा निर्देशक बैरागले प्रष्ट्याएका थिए ।

पछिल्लो पुस्तालाई लक्षित गरि फिल्ममा अंग्रेजी भाषा पनि प्रयोग गरिएको उनले सुनाए । स्व. मानान्धरसँग धेरै छलफल गर्न नपाएपनि कथालाई न्याय दिएको बैरागको दावी छ । 

‘कैदीको पत्र’ आगामी सेप्टेम्बर १२ मा स्कटल्याण्डमा पहिलोपटक प्रदर्शन गरिंदैछ । नेपालमा मंसीर २ गते र  लण्डनका विभिन्न १० स्थानमा आगामी मार्चमा प्रदर्शनको योजना बनाइएको सनमले जनाए ।

कार्यक्रममा स्व. मानन्धरकी धर्मपत्नी जानकी मनाधर पनि उपस्थित थिइन् । सो अवसरमा निर्देशक बैराग र गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गहामगरले पुष्पगुच्छासहित उनलाई सम्मान गरेका थिए ।

आफ्नो श्रीमानको कृतिले जीवन्तता पाएकोमा खुशी व्यक्त गर्दै उनले सबैलाई धन्यवाद दिएकी थिइन् ।

चलचित्रमा अभिनय गरेका विभिन्न कलाकारले आफ्नो अनुभव सुनाउंदै आफूहरुले धेरै मिहिनेत गरेकोले फिल्म राम्रो बनेको बताए । उनीहरुले चलचित्र हेरेर हौसला दिन पनि आग्रह गरेका थिए ।

कलाकार सुस्मिता थापाले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार सुमन खरेल, साहित्यकार कोमल मल्ल, समाजसेवी ध्रुव केसी, निर्माताहरु विक्रम जोशी र दिल घले, कलाकार ध्रुव दत्त, मनिष श्रेष्ठ लगायतले ट्रेलरको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । 

सोही अवसर पारेर गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष गाहामगरले निर्देशक सनम कुमार बैरागलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

कैदीको पत्रमा स्वदेशी तथा विदेशी कलाकारलाई समेटिएको छ । चलचित्रमा ३५ प्रतिशत भन्दा बढी अंग्रेजी भाषाको प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ ।  

चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका साथमा सूवर्ण थापा, सलिना थापामगर, कुनाल विश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, विभिया श्रेष्ठ, विजया श्रेष्ठ, कलिना श्रेष्ठ, बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् ।

अफिसियल ट्रेलर :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू