आइतबार, जेठ ६, २०८१
13:02 | १७:४७

मिडल्यान्डमा पहिलो नेपाली मेला हुँदै, संगै एभरेष्ट क्रिकेट लिग समापन पनि

कार्यक्रम अगस्ट २२ मा नटिङहममा

केशव भन्डारी अगस्ट १८, २०२२


लन्डन- बेलायतको मिडल्यान्ड क्षेत्रमा पहिलोपटक नेपाली मेला आयोजना हुने भएको छ। मिडल्यान्डका नेपालीहरुको साझा संस्था साझा नेपाली समाज यूकेको आयोजनामा अगस्ट २२ तारिख सोमबार नटिङहमको वेस्ट ब्रिजफोर्ड रेगटा वेको क्रिकेट मैदानमा कार्यक्रम हुँदैछ। 

नेपाली समाज नटिङहम समेतको सहकार्यमा हुन लागेको मेलाकै दिन गोल्डेन एभरेष्ट लिग समापन पनि गरिंदैछ।   

यतिबेला नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक समितिका संयोजक साझा नेपाली समाज एवम् गैरआवसीय नेपाली संघ यूकेका कार्यसमितिका सदस्य उपेन्द्र पौडेलले जानकारी गराएका छन्।

कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा विशेष अतिथि गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अभिनेता निखिल उप्रेति रहने आयोजकले बताएका छन्।

मिडल्यान्डका सबै नेपाली संघसंस्थाको सक्रिय सहयोगमा हुन लागेको मेलामा नेपालका एक्सन नायक निखिल उप्रेती, कमेडियन निर आले लगायत नेपालका राष्ट्रिय    कलाकारहरू लोकदोहोरी मेलाको मुख्य आकर्षण रहने मेला संयोजक पौडेलले जानकारी गराए । साथै क्रिकेटप्रेमीहरूले गोल्डेन एभरेस्ट क्रिकेट लीगको फाइनल खेलको आनन्द पनि लिन सक्नेछन्।

सोहि दिन गोल्डन एभरेष्ट क्रिकेट लिगको फाइनल  खेलसहित समापन गरिने जानकारी विगत ५ वर्षदेखि लिग संयोजन गर्दै आएका नेपाली समाज नटिङहमका पूर्व अध्यक्ष दिपक सापकोटाले गराएका छन्। एनआरएनए यूके खेलकुद विभागअन्तर्गत क्रिकेट खेलका संयोजक समेत रहेका सापकोटाले एभरेष्ट क्रिकेट लिग बेलायतका नेपालीहरूकै क्रिकेटको ठूलो लिग रहेको जनाए।

मिडल्यान्ड नेपाली मेलाको अन्य आर्कषणमा दिव्यज्योति नौमति बाजा, तीजगीतसहित नेपाली कला र संस्कृति झल्काउने नाचगान्, नेपाली लत्ताकपडा, भाँडाका साथै बीबीक्यू र मःम स्टल सहित आदि रहनेछन् । साथै, नेपाल सरकारबाट गैरआवसीय नेपालीहरूलाई हालै व्यवस्था भएको दिएको सुविधाअनुसार डलर एकाउन्ट खोल्न ईच्छुकहरूका लागि ग्लोबल आईएमई बैंकको बेलायत शाखाको स्टल पनि उपलब्ध हुनेछ ।

मिडल्यान्डमा पहिलोपटक हुन लागेको नेपाली मेला र क्रिकेट लिग समापन समारोह सफल बनाउन मिडल्यान्डसहित सिंगो बेलायतभरकै नेपाली समुदायको सहभागिताका लागि आयोजकले आव्हान गरेका छन्।   

सहभागी सबैका लागि निशुल्क प्रवेश रहेको कार्यक्रम बिहान ९ देखि बेलुका ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू