आइतबार, जेठ ६, २०८१
11:40 | १६:२५

बेलायतमा रेल हड्तालका कारण जनजीवन अस्तव्यस्त

नेपाली लिङ्क अगस्ट १८, २०२२

लन्डन । बेलायतका झन्डै ४५ हजार रेल्वे कर्मचारीको तीन दिने हड्तालका कारण यहाँ जनजीवन अस्तव्यस्त भएको छ ।

बिहीबार देखि शनिबारसम्म आन्दोलनमा उत्रिएका रेल्वे कर्मचारीहरु आफ्नो तलब, सेवा सुविधा बढोस् भन्ने चाहन्छन् ।  जागिर कटौतीविरुद्ध पनि उनीहरुको आक्रोश छ । बिहीबारको हड्तालमा १८ वटा कम्पनीका कामदार संलग्न छन् ।

कतिपय रुटहरुमा सेवा ठप्प छन् भने संचालनमा रहेका रुटमा पनि सिमित अवधि बिहान ७:३० देखि साँझ ६:३० बजेसम्म मात्र सेवा संचालित हुनेछन् ।

हड्तालका कारण आधा भन्दा बढी रेल लाइन बन्द छन् भने बिहिबार २० प्रतिशतमात्र सेवा सुचारु छ । शनिबार करिब ५० प्रतिशत सेवाहरु बन्द हुने बीबीसीले जनाएको छ । शुक्रबार त बसका कामदारपनि हड्तालमा उत्रंदै छन् ।

हड्तालका कारण हजारौं यात्रुले सास्ती खेपेका छन् । खासगरि कामदार, महोत्सव र लर्ड्समा क्रिकेट टेस्ट म्याच हेर्न जाने दर्शक प्रभावित भएका छन् । यात्रुहरुलाई आवश्यक परेको खण्डमा मात्र रेलयात्रा गर्न भनिएको छ ।

सेन्ट्रल मिडलसेक्स हस्पिटलमा कार्यरत अर्जुन बोहोराले रेल हड्ताल हुँदा जागिर गर्न असहज भएको बताए । ‘बेलायतमा हड्ताल, आन्दोलन नौलो लाग्थ्यो । अब त दिनहुं हुन थाले,’ उनले भने, ‘महंगीले आकाश छुंदा तलब बढेको होइन । त्यसकारण यस्ता आक्रोश अब सबैमा हुने देखेको छु ।’

रेल, म्यारिटाइम एन्ड ट्रान्सपोर्ट (आरएमटी) यूनियनले हड्ताल आव्हान गरेको हो । आरएमटीका महासचिव मिक लिन्चले ज्याला वृद्धि नगरिएसम्म अनिस्चितकाल हड्ताल जान सक्ने चेतावनी दिएका छन् ।

जुन महिनायता यो हड्ताल छैटौ पटक हो । यो राष्ट्रिय हड्तालबाट रेल उधोगले दैनिक ३० मिलियन पाउन्ड नोक्सान बेहोरेको छ ।

यातायात मन्त्रालयका प्रवक्ताले यूनियन नेताहरु सहमतिमा आउनुको सट्टा लाखौं मानिसको दैनिक जीवन प्रभावित गर्न चाहेको आरोप लगाएका छन् ।

बेलायतमा महंगीले जनता आजित छन् । एक दिन अघिमात्र बेलायतमा मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएको तथ्यांक सार्वजनिक भएको थियो ।

खासगरि, खाद्यान्न तथा ऊर्जाको बढ्दो मूल्यवृद्धिले मुद्रास्फीति सन् १९८२ फेब्रुअरी यताकै सबैभन्दा बढेको सरकारी तथ्यांक कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू