शुक्रबार, वैशाख १४, २०८१
18:01 | २२:४६

एनआरएनए यूके कोषाध्यक्षले सार्वजनिक गरे हिसाब, अध्यक्षमाथि १२ हजार पाउन्डको प्रश्न

नेपाली लिङ्क अगस्ट १४, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक भएको छ। कोषाध्यक्ष विष्णु खरेलले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले विगत एक वर्षमा संस्थामा आम्दानीको तुलनामा खर्च पांच गुणा बढी भएको देखाएको छ । एक वर्ष अवधिमा संस्थाको खर्च ५८ हजार ४७२ पाउन्ड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

साथै, अध्यक्ष प्रेम गाहामगरको दबाबका कारण १२ हजार पाउन्ड बढी रकम विवरण नखुलेको शीर्षकमा खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

बाढी पीडितका नाममा दश लाख रुपैयां (६११६ पाउण्ड) सुरेन राईको व्यक्तिगत खातामा पठाइएको तर त्यो कहां कसलाई वितरण गरियो, को प्रतिनिधि सहभागी थिए, स्पष्ट नभएको कोषाध्यक्षको प्रतिवेदनमा छ ।

संस्थालाई आइसीसी उम्मेद्वारहरुबाट च्यारिटी कार्यक्रममार्फत् २२ हजार पाउन्ड प्राप्त भएको तर खर्च कटाएर १२ हजार ९ सय ५५ पाउन्ड मात्र जोगिएको जनाइएको छ । च्यारिटीमा मदिरापानमा बढी खर्च भएको पाइएको छ ।

प्रेम गाहामगरले नेतृत्व सम्हालेको एकसय दिनको अवसरमा आयोजित महोत्सवमा ९ हजार पाउण्ड खर्च गरिएको छ । बाजागाजामा मात्र ओम थापामगरले १९५० पाउण्ड लगेका छन् । शुरुमा त्यो स्वयंसेवावापत निशुल्क उपलब्ध हुने भनिएको कोषाध्यक्ष खरेलले बताए ।

एनआरएनए आइसीसीलाई लेबी वापत पठाइएको ३९ हजार २८५ पाउण्ड ७३ पेन्सको पनि कोषाध्यक्ष खरेलले प्रतिवाद गरेका छन् ।

कोषाध्यक्ष खरेलले भने, ‘हो एनआरएनए यूके च्यारिटी कमिसनमा दर्ता छ । तर लक्ष्य अनुसारको काममा खर्च गर्न च्यारिटी कमिसनले नरोक्ने विधानमै छ । दोश्रो कुरा, कार्यसमितिले उपाध्यक्ष नारायणदत्त कंडेललाई केन्द्रसंग ‘एमओयू’ गर्न निर्देशन दिएको र निर्देशन पश्चात तत्काल कार्यसमितिले मलाई नेपाल पैसा पठाउन निर्देशन दिएको हो ।

तेश्रो, हामीले पञ्जीकृत सदस्यहरुबाट सदस्यता दिंदा नै ‘इलेक्ट्रोनिक म्याण्डेट’ लिइसकेका छौं । चौंथो कार्यसमितिको वहुमत (१४ जना) ले हस्ताक्षर गरेका र ति मध्ये ५ जना ट्रष्टी छन् । कुल ८ जना ट्रष्टीमध्ये ५ जनाले हस्ताक्षर गरेकाले ट्रष्टीमा पनि वहुमत हुंदा मैले नेपाल पैसा पठाएको हुं ।’

अल्डरसटस्थित कार्यालयमा मासिक खर्च झण्डै १५ सय पाउण्ड हुने गरेको तर आयश्रोत नियमित नभएपछि त्यो खर्च बेहोर्न पनि नसकिने स्थिति आएको खरेलले बताए ।

आर्थिक प्रतिवेदन जस्ताको तस्तै-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू