बुधबार, वैशाख १२, २०८१
11:41 | १६:२६

बेलायतमा इलामेलीहरुले गरे वार्षिक जमघट

नेपाली लिङ्क अगस्ट १४, २०२२

लन्डन । बेलायतमा बसोवास गर्दै आएका इलाम जिल्लावासीहरुले शनिबार वार्षिक भेटघाट कार्यक्रम गरेका छन् । इलाम सोसाइटी यूकेद्वारा आयोजित भेटघाट कार्यक्रममा इलाम तथा छिमेकी जिल्लावासी सहभागी थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा धर्मपत्नी श्रीमति सुनिता आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगर, पत्रकार महासंघ यूकेका महासचिव नरेन्द्र बस्नेत, समाजसेवी शिवजी श्रेष्ठ, ताप्लेजुङ समाज यूके अध्यक्ष बुद्धिबहादुर दर्नाललगायत अतिथीले शुभकामना दिएका थिए ।

पर्यटकीय दृष्टिकोणले रमणीय स्थान इलाम अहिले चियामा बगानमा मात्र सिमित नरहेर अन्य थुप्रै वस्तुका लागि प्रख्यात रहेको प्रमुख अतिथि राजदूत आचार्यले बताए । पर्यटन प्रवर्धनको प्रचुर सम्भाव्यता रहेको इलामलाई जे जति गरिएको छ त्यो पर्याप्त नभएको भन्दै थप विकास 
गर्नुपर्ने पनि आचार्यले बताए । इलाम सोसाइटी यूकेले गृह जिल्लामा पुरयाएको योगदानको सरहाना गर्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले इलामका विभिन्न स्थान र त्यसको महत्वबारे प्रष्ट्याएका थिए । सामाजिक काम बाहेक धर्म संस्कृति र परम्परा जगेर्ना गर्न सोसाइटी विगत १३ वर्षदेखि निरन्तर लागिपरेको पनि उनले स्मरण गरे ।

शुभकामना मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ यूकेका महासचिव नरेन्द्र बस्नेतले इलाम सोसाइटी यूकेले गृह जिल्लामा पुरयाएको योगदान र कोभिड महामारीमा गरेको पहलको प्रशंसा गरेका थिए । 
महासंघले बेलायतस्थित नेपाली संघसंस्थाहरुसंग निरन्तर सहकार्य गर्दै आएको र भावी दिनमा पनि संघसंस्थासंग हातेमालो गरेर अघि बढ्ने उनले बताए ।

समाजसेवी शिवजी श्रेष्ठले इलाम जिल्लामा रहेका आकर्षक स्थलहरु माइपोखरी र त्यहाँ पाइने विश्वकै एकमात्र झ्याउबारे चर्चा गरेका थिए । आफूले विभिन्न जेलमा पुस्तकालय स्थापना गर्ने लक्ष्यसहित केहि जेलमा पुस्तकालय स्थापना भइसकेको पनि श्रेष्ठले बताए ।

इलाम सोसाइटी यूके अध्यक्ष प्रमिला लावुङ राईले सोसाइटीले नेपालको गृह जिल्लामा अहिलेसम्म करिब ४० लाख रुपैयां बराबरको सहयोग गरिसकेको बताइन् ।

कोभिड महामारीका बेला ४ नगर र ६ वटा गाउपलिकामा कन्सनट्रेटर र अक्सिमिटर सहयोग गरेको स्मरण गर्दै उक्त सामान पठाउन लन्डनस्थित नेपाली दूतावासले पुरयाएको सहयोगको सरहाना गर्दै दूतावासलाई विशेष धन्यवाद व्यक्त गरिन् ।

वृद्धाश्रम, शारीरिक रुपमा अशक्त एवम् गम्भीर विरामी, एकल महिला जस्ता विभिन्न विषयलाई विशेष 
प्राथमिकतामा राखेर आफ्नो संस्थाले नेपालमा सहयोग पुरयाउंदै आएको र सगरमाथा आरोहीलाई पनि सहयोग गरेर प्रोत्साहन दिएको राईले बताइन् । आफ्नो संस्थाले इलामलाई पर्यटन प्रवर्धन गर्ने मुख्य लक्ष्य रहेपनि कोरोना महामारीका कारण सम्भव नभएको र अब यसलाई अघि बढाउने उनले बताइन्।

संस्थाका सदस्यको मृत्यु भएमा तत्काल मृतक परिवारलाई संस्थाको आपतकालीन कोषबाट एकमुस्ट ४ हजार पाउण्ड दिने व्यवस्था गरिएकाले मृतकको शव नेपाल पठाउन वा यहीं अन्त्येष्टी गर्न ठूलो राहत पुग्ने उनले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत, अतिथिहरु, सम्पादन मण्डल तथा विभिन्न व्यक्तिबाट ‘इलाम प्रतिबिम्ब’ नामक स्मारिका पनि विमोचन गरियो । जसको प्रधान सम्पादक मुकेश राई र सहसम्पादक उमाकान्त गुरुङ छन्  ।

संस्थाका पूर्व अध्यक्षहरु, ब्रिटिश गोर्खा सेनामा पदोन्नति भएका क्याप्टेन,मेजरलगायत स्याण्डस रेगुलर कमिसनबाट भर्ती  भएका क्याप्टेनहरुकासाथै ईलाम समाजप्रति योगदान पुर्याउने सदस्यहरुलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।
यसैगरी  डिग्री तथा मास्टर डिग्रीका साथै डाक्टर पास गरेका विद्यार्थीहरुलाई  पनि थप प्रेरानास्वरुप  बधाई तथा  प्रमाणपत्र प्रदान गरिएको थियो  । सोहि कार्यक्रममा  ईलाम फुटबल क्लब र  क्षेत्रीय प्रतिनिधिहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका लोकदोहोरी कलाकारहरु विशाल रायमाझी र अस्मिता डल्लाकोटीले सांस्कृतिक प्रस्तुति पस्किएर थप मनोरन्जन दिए ।

साथमा इलामेली कलाकारहरु गायक तथा संगीतकार चोक गुरुङ, गायक तथा रचनाकार उमाकान्त गुरुङ, बांसुरीबादक टेकबीर राई, नृत्यांगना सोनिशा अधिकारीले पनि कार्यक्रममा 
मनोरन्जन दिलाएका थिए । उक्त कार्यक्रम सञ्चालन संस्थाका महासचिव धनबहादुर 
राईले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू