मंगलबार, वैशाख ११, २०८१
14:35 | १९:२०

गोर्खा वार्ताका लागि बेलायतसँग टिओआर बैठक अगस्ट २२ मा

नेपाली लिङ्क अगस्ट १२, २०२२


लन्डन । अन्तत: भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’  (टिओआर) बैठक मिति तय भएको छ ।

वार्ताका लागि टिओआर तयार पार्न आगामी अगस्ट २२ लाई बैठक तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालका अनुसार दूतावासमा बस्ने बैठकमा बेलायती रक्षा मन्त्रालय, लन्डनस्थित नेपाली दूतावास र पूर्व गोर्खाहरुका प्रतिनिधिसमेतको सहभागिता रहनेछ।

सोही बैठकबाट वार्ताको ‘टिओआर’ लाई अन्तिम रुप दिन कोशिश गरिने तर सम्भव नभए फेरि अर्को बैठक बसेर टुंगो लगाइने खनालले जनाइन्।

टिओआर बैठकको मिति तय भएसंगै पछिल्लो समय केही सुस्त देखिएको गोर्खा वार्ता प्रक्रियाले अब गति लिने आशा गरिएको छ।  

पूर्व गोर्खाहरुको मुद्धालाई समाधान गर्ने उद्धेश्यले गोर्खाहरु समेतको सहभागितामा बेलायत र नेपाल सरकारबीच वार्ता हुने तयारी छ।

दूतावास स्रोतका अनुसार बेलायती पक्षले आगामी सेप्टेम्बरभित्रै वार्ता शुरु गर्न र जनवरीसम्म निष्कर्षमा पुग्ने गरी अघि बढ्न आफ्नो प्रतिवद्धता जनाएको छ।

यसैबीच, टिओआर बैठक तय भएसंगै गोर्खाहरुले पनि अब वार्ताको प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरेका छन् ।  

वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका  मेजर जुद्धबहादुर गुरुङले टिओआर बैठक तय हुनुलाई गोर्खा वार्ताको प्रक्रियामा एक महत्वपूर्ण खुड्किलो र आशाको किरण देखिएको भन्दै खुशी व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू