शुक्रबार, चैत १६, २०८०
05:27 | ११:१२

प्रवासी नेपाली मञ्च यूकेको नयाँ नेतृत्व चुन्न सेप्टेम्बर ४ मा अधिवेशन, नेता भट्टराई आउंदै

नेपाली लिङ्क अगस्ट १०, २०२२

लन्डन। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूके अधिवेशन तयारीमा जुटेको छ। आगामी सेप्टेम्बर ४ तारिख आइतबार अल्डरसटमा मञ्चको सातौँ अधिवेशन गर्ने तयारी अघि बढाइएको छ। अधिवेशनले संगठनलाई दुई वर्ष नेतृत्व प्रदान गर्ने टीम निर्वाचित गर्नेछ।

अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका केन्द्रीय नेता डा राजन भट्टराई सहभागी हुने मञ्चले जनाएको छ। 

नेकपा एमालेका विदेश विभाग प्रमुख एवम् प्रवास इन्चार्ज भट्टराई अधिवेशनमा भाग लिन सेप्टेम्बर २ तारिख लन्डन उत्रिने कार्यक्रम छ।

मञ्चका संगठन विभाग प्रमुखसमेत रहेका वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुषालका अनुसार अधिवेशनअघि अहिले मञ्चका क्षेत्रीय समितिहरुको अधिवेशन चलिरहेको छ। बेलायतभर रहेका मञ्चका ६ क्षेत्रीय कमिटीमध्ये तीन वटाको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी तीन कमिटीको अगस्टभर गरिसक्ने योजना छ।

अधिवेशनमा जम्मा तीन सय १३ सदस्यहरु प्रतिनिधिका रुपमा सहभागी हुने टुंगो लागेको मञ्चका महासचिव सुरेशजंग शाहले जानकारी दिए।

अधिवेशन सम्पन्न गर्न मञ्चले तयारीका विभिन्न कार्य अघि बढाएको छ। जसअनुसार मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। नयाँ कमिटी निर्वाचनका लागि सोही अध्यक्षमण्डलले एक निर्वाचन समिति गठन गरी जिम्मेवारी प्रदान गर्नेछ।

अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ।

मञ्चको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सुरेन्द्र थपलियासंगै उपाध्यक्षहरु तुंगभद्र भुषाल र सरस्वती केसीको नाम चर्चामा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू