शुक्रबार, वैशाख १४, २०८१
13:07 | १७:५२

बेलायतमा गुल्मेली मेला- मौलिक सांस्कृतिक कार्यक्रमले झल्काए नेपाल

फडिन्द्र भट्टराई अगस्ट ८, २०२२


लन्डन । नेपालमा गुल्मी जिल्ला घर भइ बेलायतमा बस्ने नेपालीहरुले नेपाल झल्काउने गरी वार्षिक भेटघाट कार्यक्रम गरेका छन्।

गुल्मी जिल्ला समाज यूकेको आयोजनामा बेलायतको अल्डरसटमा झन्डै १५ सयको उपस्थितिमा वार्षिक भेटघाट कार्यक्रम भएको हो। 

कार्यक्रममा सहभागी हुन स्कटल्याण्ड, मिडल्याण्डसहित बेलायतका विभिन्न शहरहरुबाट बस कोच बुकिंग गरेरै सयौंको संख्यामा आएका गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुको जमघट अवलोकन गर्न लायक थियो । 

भित्र हलमा औपचारिक कार्यक्रम चलिरहंदा बाहिर भने नेपालको पश्चिमी भेगमा प्रसिद्द सालैजो झ्याउरे, तीज गीत, भजन-चुटका लगायत गुल्मेली नौमती बाजाको प्रस्तुतिमा सहभागीहरु झुमेर नाचेको दृश्य निकै रोचक थियो । 

कार्यक्रममा नेपालबाट आएकी गायिका शान्तारानी परियारको विशेष प्रस्तुतिसंगै विभिन्न स्थानीय कलाकारका आकर्षक नाचहरु प्रस्तुत गरिएका थिए ।  

खुला चौरसहितको हलको प्राङ्गणमा भएको नाचगान, खानपान  लगायतका कार्यक्रमहरुमा रमाएका नेपालीहरुले नेपालकै मौलिक महोत्सवको झल्को मेटाएको बताए । कार्यक्रममा उल्लेख्य संख्यामा आफ्ना परिवारजन भेट्न बेलायत आएको अवसरमा यस्तो नेपाली उत्सव देखेर उनीहरु दंग थिए। 

संस्थाका अध्यक्ष बीर बलालले सांस्कृतिक कार्यक्रम पूर्वको औपचारिक कार्यक्रमको अध्यक्षता गरेका थिए। प्रमुख अतिथिको रुपमा  बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले शुभकामना मन्तव्य दिंदै बेलायतमा बस्ने गुल्मेलीहरुले नेपालको मौलिक संस्कृतिलाई यहाँ पनि जीवन्त बनाएकोमा धन्यवाद ज्ञापन गरे । 

संस्थाकी उपाध्यक्ष मन्जु भण्डारी खरेलले संयोजन गरेको कार्यक्रमलाई एनआरएन यूके अध्यक्ष प्रेम गाहामगर, समाजका पूर्व अध्यक्ष अर्जुन गौतम, सल्लाहकार क्याप्टेन ताम ढेगालगायतले सम्बोधन गरेका थिए। कार्यक्रम सञ्चालन महासचिव रुद्र थापाले गरेका थिए।  

सन् २००७ मा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपाल र बेलायतमा विभिन्न परोपकारी कामहरु गरेर प्रतिष्ठा कमाएको छ।

थप तस्विरहरु (तस्विर- शिव भन्डारी) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू