सोमबार, ३० जुन, २०२५
22:39 | ०३:२४

बेलायतमा नेपालकै झल्को दिने सामूहिक नेवा भोज (तस्विरहरु)

नेपाली लिङ्क अगस्ट ८, २०२२

लन्डन। बेलायतमा नेपालकै झल्को दिने गरी मौलिक शैलीमा सामूहिक नेवा भोज (नेवा भ्वय:) गरिएको छ।  

पासा पुच: गुठी यूके साउथ इष्ट शाखाको आयोजनामा शनिबार वुल्लीचमा गरिएको भोजमा दुई सय पचास भन्दा बढीको सहभागिता रह्यो।

भोजमा परम्परागत शैलीमा तयार पारिएका ४ दर्जन मौलिक नेवारी परिकारहरु सर्भ गरिएको थियो। खानासँगै घरमै बनाइएका  ‘ऐला’ र ‘थों’ ले पनि भोजलाई थप विशेष बनाएका थिए।

भोजमा पहिलो कोर्समा १२ परिकारसहितको ‘समयबजी’ थियो भने दोस्रो कोर्समा विभिन्न ३२ परिकारहरुको मुख्य ‘भ्वय’ थियो। भोजमा पस्किएका अधिकांश परिकारहरु गुठीका महिला सदस्यहरुले घरमै पकाएर ल्याएका थिए भने बाँकी पुरुष सदस्यहरु मिलेर तयार पारेका थिए।

भोजमा उपस्थित सदस्यहरुमध्ये ९४ वर्षीया विष्णुमाया कायस्थसहित १० जना ज्येष्ठ सदायहरुबाट भोज शुरु गराइएको थियो।

भोजमा बेलायतस्थित नेवार समुदायका साथै गैरनेवार समुदायका नेपालीहरु पनि उत्तिकै रमाएका थिए। सहभागीको संख्या धेरै भएपछि दुई चरणमा भोज सञ्चालन गरिएको थियो।  

आयोजक पासा पुच: गुठी साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ गायक किरण प्रधान सहभागी भएका थिए। त्यस अवसरमा प्रमुख अतिथि प्रधानले आफ्नो छोटो मन्तव्यसंगै केही नेवारी तथा नेपाली गीत सुनाएका थिए।

अध्यक्ष श्रेष्ठले बेलायतमा आफ्नो मौलिक परम्परा र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्धेश्यले वर्षेनी नेवा भोज गरिंदै आएको बताए।

बेलायतमै जन्मिएका, हुर्किएका नयाँ पुस्तादेखि गैरनेवार समुदायका नेपालीहरुलाई पनि खानामार्फत् नेवा संस्कृति चिनाउने अवसरका रुपमा यो भोजको भूमिका रहने आशा उनले व्यक्त गरे।

कार्यक्रममा स-साना बालबालिका र महिलाहरुले मौलिक धिमे बाजा बजाएर विशेष प्रस्तुति देखाएका थिए। भोजको संयोजन ईश्वर महर्जनले गरेका थिए।

भोजलाई सफल पार्न नयाँ पुस्ताका युवाहरु पनि सक्रियतापूर्वक खटिएका थिए। ममता श्रेष्ठ, दिव्य श्रेष्ठ, सोम श्रेष्ठ, एलेन शाक्य, रचित खायागुली, रजनी श्रेष्ठ, पल्लवी श्रेष्ठ, प्रतिक श्रेष्ठ, इर्भिन श्रेष्ठ, आशिष श्रेष्ठ, करुणा कायस्थ, विभिया श्रेष्ठ, सइला डंगोल, रजनी शाक्य, विकास श्रेष्ठ, श्रेया राजभण्डारी, आयुष्मा श्रेष्ठ, रिति श्रेष्ठ लगायत स्वयमसेवकको रुपमा सघाएका थिए।  

बेलायतमा नेवा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको पासा पुच: साउथ इष्टले केही महिना अघिमात्रै बेलायतमा पहिलोपटक बिस्केटजात्रा मनाएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू