बुधबार, असोज १९, २०७९
19:06 | २३:५१

एनआरएनए यूके कार्यक्रममा हिंडेका राजदूत बाटोबाटै फर्किए, कार्यक्रमस्थलमा आक्रोश

दूतावास भन्छ- विवाद आएकाले तटस्थ बसिएको हो

नेपाली लिङ्क अगस्ट ६, २०२२

फाइल तस्वीर: बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन-एनआरएनए यूकेको अल्डरसटमा आयोजित साधारणसभामा भाग लिन हिंडेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बीच बाटोबाटै फर्किएका छन्।

एनआरएनए यूके कार्यसमितिभित्रै कार्यक्रम सम्बन्धमा चर्को विवाद भएपछि उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका राजदूत सहभागी नभएका हुन्।

‘कार्यक्रमको प्रमुख अतिथिको रुपमा महामहिमज्यूले भाग लिने योजना थियो। तर अन्तिम समयमा कार्यक्रम विवादित बनेर कार्यसमितिको बहुमत पदाधिकारीले बहिष्कार गरेपछि उहाँले स्वविवेकले सहभागी नहुने निर्णय लिनुभएछ’, एनआरएनए यूके महासचिव खुशी लिम्बूले भने। 

कार्यक्रममा सहभागी हुन लन्डनबाट अल्डरसटतर्फ लागिसकेका राजदूतले बीच बाटोबाटै फर्किएको भन्दै एनआरएनए यूकेका एक उपाध्यक्षलाई टेलिफोनमार्फत् जानकारी गराएको महासचिव लिम्बूले जनाए।

उता, कार्यक्रमका प्रमुख अतिथि राजदूत आचार्यले अन्तिम समयमा धोका दिएको भन्दै आयोजकले गम्भीर असन्तुष्टि जनाएका छन्। 

‘हामीलाई लाग्थ्यो राजदूत बेलायतवासी सबै नेपालीको अभिभावक हो, सबैका कुरा सुन्नुहुन्छ। तर उहाँले त कोही कसैको मात्रै सून्नुहुँदो रहेछ’, अध्यक्ष प्रेम गाहामगरले नेपाली लिंकसँग भने, ‘आज महामहिमबाट एनआरएनए यूकेप्रति भएको व्यवहारले हामी दु:खी छौं। हाम्रो संस्थाले पनि उहाँलाई दिंदै आएको स्थान र महत्वमा अब पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’ 

११ बजे शुरु हुने गरी पूर्व निर्धारित कार्यक्रम प्रमुख अतिथि राजदूतकै पर्खाइमा २ बजे सम्म रोकिएको थियो।’राजदूतले बाटोमा छु, २ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ ।त्यसैले हामीले उहाँकै लागि तीन घण्टा पर्खियौं। तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं’, एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भने।

कार्यक्रममा बेलायतका संघसंस्थालाई प्रदान गर्न प्रमुख अतिथि राजदूतको नामसहित छापिएका सयौं सम्मानपत्र पनि उनको हस्ताक्षरबिना खेर गएपछि आयोजकलाई अन्तिम समयमा अर्को समस्या थपिएको थियो।

अन्तिम समयमा राजदूत नआएपछिको आक्रोश आयोजकमा मात्र नभइ कार्यक्रमका सहभागीहरुमा पनि देखियो।

एनआरएनए यूकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड डमर घले ‘एमबिई’ ले त मञ्चमा सम्बोधनकै क्रममा राजदूत आचार्यको भूमिकामाथि प्रश्न उठाउँदै अब उनको राजीनामा नै माग्नुपर्ने बताएका छन्। 

लन्डन दूतावासले भने कार्यक्रमका बारेमा विवाद बाहिर आएकाले राजदूत सहभागी नभएको स्वीकार गरेको छ।  दूतावासकी प्रवक्ता रोशन खनालले नेपाली लिंकसँग भनिन्, ‘हाम्रो लागि सबै समान हो। तर विवादको अवस्थामा तटस्थ बस्नु हाम्रो कर्तव्य हो।सबै पक्ष मिलेर आउनुहोस्, हाम्रो साथ, सहयोग सधैं रहनेछ।’ 

कार्यसमितिको बहुमत पदाधिकारीको विरोधबीच अध्यक्ष प्रेम गाहामगरको आव्हानमा अल्डरसटमा कार्यक्रम आयोजना भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए आइसीसीका पूर्व अध्यक्ष शेष घले सहभागी भएका छन्।

एनआरएनए यूकेको साधारणसभामा आइसीसीको संस्थापन पक्षका अध्यक्ष कुल आचार्यसहित अन्य पदाधिकारीलाई निम्तो गरिएको छैन।तर आइसीसीमा विद्रोह गरी छुट्टै अधिवेशन गराएर समानान्तर समिति बनाएका घलेलाई प्रमुख अतिथि बनाएर सहभागी गराइएपछि अब आइसीसीबाट कस्तो प्रतिक्रिया आउंछ हेर्न बाँकी छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू