शुक्रबार, वैशाख ७, २०८१
11:51 | १६:३६

आर्थिक मन्दीतर्फ लम्किंदै बेलायत, २७ वर्षकै उच्च ब्याजदर

नेपाली लिङ्क अगस्ट ४, २०२२

लन्डन- चर्को मूल्य वृद्धिको चेपुवामा परेका बेलायतीहरुमाथि फेरि अर्को आर्थिक भार थपिएको छ।

बैंक अफ इंग्ल्यान्डले विहीबार आधारभूत ब्याजदरमा शून्य दशमलव ५ प्रतिशतले वृद्धिको घोषणा गरेको छ।  

यसअघि १ दशमलव २५ प्रतिशत रहेको ब्याजदर बढाएर १ दशमलव ७५ पुर्‍याइएको छ। जुन पछिल्लो २७ वर्षकै रेकर्ड उच्च दरको वृद्धि रहेको जनाइएको छ।

ब्याजदर वृद्धिको घोषणा गर्दै बैंक अफ इंग्ल्यान्डका गभर्नर एन्ड्रयू बेइलीले पछिल्लो समय बढेको ‘मुद्रा स्फिति’/महंगीकै कारण व्याजदर बढाउन बाध्य बनेको बताए। महंगीको मारमा परेका सार्वसाधारण जनता ब्याजदर वृद्धिले थप असार गर्नेबारे दु:ख व्यक्त गर्दै उनले अहिले नै ब्याजदर नबढाए पछि थप ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने दाबी गरे।

अहिले बेलायतमा भएको चर्को मूल्य वृद्धिको सबैभन्दा ठूलो कारक रुस र युक्रेनबीचको युद्धलाई ठानिएको छ। यो क्रम एक वर्ष कायम रहने अनुमान छ।   

बैंक अफ इंग्ल्यान्डले यही वर्षको पछिल्लो तीन महिनामा देश पुन: आर्थिक मन्दीमा फस्ने चेतावनी दिएको छ। जुन बेला ‘मुद्रा स्फिति’ बढेर यसअघि प्रक्षेपण गरिएभन्दा पनि दुई प्रतिशत बढी १३ प्रतिशतसम्म पुग्ने आंकलन बैंकको छ।

बेलायतमा अबको आर्थिक मन्दी यसअघि सन् २००८ को जत्तिकै ‘रिकभर’ गर्न सार्‍हो भने नहुने आशा गरिएको छ। तर सोही बेलाजस्तै यसपटकको मन्दी पनि झन्डै डेढ वर्षसम्म कायम रहने अनुमान गरिएको छ।

यो वर्षको अन्तिम तीन महिनामा सुरु भएर सन् २०२३ को अन्तसम्म बेलायतको अर्थतन्त्र संकुचित रहने अपेक्षा गरिएको छ । यो वित्तीय संकट सन् २००८ पछिको सबैभन्दा लामो हुनेछ । युक्रेनमा रूसको आक्रमणपछि बढेको ग्यासको मूल्य नै यसको कारक मानिएको छ ।

कोरोना महामारीका कारण थलिएको बेलायतको आर्थिक अवस्था रुस र युक्रेन युद्धले थप संकटमा छ ।

ब्याजदरमा वृद्धिको प्रत्यक्ष वा परोक्ष असर अब हरेक बेलायतीमा पर्नेछ। त्यसमाथि पनि बैंकहरुबाट मोर्गेज, बैंक ऋण, क्रेडिट कार्ड ऋण आदि लिएका मानिसहरुले नियमित रुपमा बुझाउने ‘रिपेमेन्ट’ को रकम उल्लेख्य रुपमा बढ्नेछ ।

ब्याजदर वृद्धिका कारण घरधनीलाई थप मार पर्ने बताइएको छ । मूल्यवृद्धि नियन्त्रण गर्ने एउटा उपाय भनेको ब्याजदर बढाउनु हो, जसले मानिसहरूलाई ऋण लिन र कम खर्च गर्न प्रोत्साहित गर्छ । यसले सैद्धान्तिक रूपमा मानिसहरूलाई थप बचत गर्न प्रोत्साहित गर्छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू