शुक्रबार, वैशाख ७, २०८१
09:38 | १४:२३

लन्डनमा नेपाली युवा व्यवसायीको पहलमा सम्पन्न भयो ‘एचटिआर क्रिकेट टुर्नामेन्ट’

६ टीमबीच भिडन्त, विजेतालाई १५ सय पाउन्ड

नेपाली लिङ्क अगस्ट २, २०२२

लन्डन। बेलायतस्थित खेलप्रेमी नेपाली युवा व्यवसायीहरुको सक्रियतामा यहाँका नेपाली खेलाडीमाझ एक क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।

लन्डन सुपर स्पोर्टस् लिमिटेडको आयोजनामा आइतबार ग्रीनफोर्डको बर्कबेक एभिन्यूस्थित ‘लन्डन म्याराथन प्लेयिङ फिल्ड’ मा आयोजित एचटीआर क्रिकेट टुर्नामेन्टमा बेलायतका विभिन्न क्षेत्रबाट आएका आधा दर्जन टीमले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको विजेता बन्दै हिमालयन क्रिकेट क्लब रेडिङले नगद १५ सय पाउन्ड र मेडलसहितको पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता खुकुरी क्रिकेट क्लब हन्सलोलाई नगद ५ सय पाउन्ड र मेडलसहित पुरस्कृत गरियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीस्वरूप आशिष कुर्मीलाई नगद २ सय ५० पाउन्ड र ट्रफी  प्रदान गरियो। त्यस्तै, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा फिल्डरका रुपमा पनि खेलाडीहरुलाई नगद र ट्रफीसहित सम्मानित गरिएको थियो।

विजेता खेलाडीहरुलाई प्रतियोगिता आयोजकका तर्फबाट डिरेक्टरहरु टंक भट्टराई, राज पाण्डे, जेनिश गिरी, रक्षा थापालगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता विजेतालाई १ हजार पाउन्ड प्रदान गर्ने पूर्ववत् योजना रहेपनि खेलाडीहरुको समर्पण र उपस्थित दर्शकहरुको उत्साहलाई कदर गर्दै ५ सय पाउन्ड थप गरिएको आयोजकले बताएका छन्।  

दुई वटा पिचमा खेलाइएको खेल ८ ओभरको थियो। जसको सञ्चालनका लागि प्रोफेसनल रेफ्रीहरु ल्याइएको थियो।  प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, नवयुवा क्रिकेट क्लब, हिमालयन क्रिकेट क्लब, गोर्खा केन्ट क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब र ब्ल्यान्डफोर्ड क्रिकेट क्लबले भाग लिएका थिए। 

खेल हेर्न करिब दुई सय दर्शक उपस्थित रहेको आयोजकले जनाएका छन्। उपस्थित दर्शकको मनोरञ्जनका लागि सोही अवसरमा सञ्चालन गरिएको सामूहिक मेहेन्दी, फेस पेन्टिङ, म्यूजिकल चेयरसहितका आउटडोर गतिविधिमा थुप्रै महिला तथा बालबालिका रमाएका थिए।

कार्यक्रमस्थलमा प्रवेश निशुल्क थियो भने खर्च व्यवस्थापन प्रायोजकहरु एचटिआर केयर एन्ड रिक्रुटमेन्ट लिमिटेड र माया सपोर्टेड लिभिङ लिमिटेडले गरेका थिए।

प्रतियोगिताको आयोजक लन्डन सुपर स्पोर्टस् लिमिटेड बेलायतस्थित नेपाली युवा व्यवसायीहरु टंक भट्टराई, राज पाण्डे र जेनिश गिरीको सक्रियतामा स्थापित समूह हो। जसले बेलायतका नेपालीमाझ खेलकुदहरु आयोजना गर्ने र खेलसम्बन्धि जनचेतना फैलाउने जस्ता लक्ष्य राखेको छ।

समूहले आफ्ना सबै गतिविधिबाट संकलित रकम पूर्णत: पारोपकारी कार्यमा खर्चिने जनाएको छ । समूहका तीनै जना निर्देशकहरु व्यक्तिगत रुपमा पनि व्यवसायका साथै विभिन्न परोपकारी काममा नियमित संलग्न रहंदै आएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू