सोमबार, वैशाख १७, २०८१
03:32 | ०८:१७

अध्यक्षको असहमतिबीच एनआरएनए यूकेद्वारा आइसीसीलाई शुल्क पठाउने निर्णय

नेपाली लिङ्क जुलाइ २६, २०२२

आइतबार अध्यक्ष गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमा बसेको बैठक ।तस्विर- मिलन तमु

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अध्यक्ष प्रेम गाहामगरको असहमति बाबजुद बहुमतद्वारा केही महत्वपूर्ण निर्णय गरेको छ ।

आइतबार सम्पन्न कार्यसमिति बैठकले आइसीसीलाई सदस्यताबापतको शुल्क तत्काल पठाउने र आइसीसीसँग ‘एमओयू’ मा हस्ताक्षर गर्ने पूर्ण अधिकार उपाध्यक्ष नारायण कंडेललाई दिने, तीन महिनाभित्र विधान अधिवेशन आयोजना गर्ने र महासचिव खुशी लिम्बूमाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको एनआरएनए यूके सचिव विष्णु चालिसेले बताए।

स्मरण रहोस्, अध्यक्ष गाहामगरले आइसीसी विवादित बनेकाले अहिले रकम होल्डमा राख्नुपर्ने र शुल्क बुझाउनुअघि विशेष एमओयु गर्नुपर्ने अडान राख्दै उक्त शुल्क पठाउन मानेका थिएनन्।

सचिव चालिसेका अनुसार आइतबारको बैठकमा एनआरएनए यूकेको ३३ सदस्यीय कार्यसमितिका २४ पदाधिकारी प्रत्यक्ष उपस्थित थिए भने बाँकी पदाधिकारीले बहुमतको निर्णय मान्य हुने भन्दै ‘अपोलोजी’ पठाएका थिए। कार्यसमितिको बहुमतले गरेका निर्णयमा अध्यक्ष गाहामगरसहित मात्र तीन जनाले असहमति जनाएको उनले दाबी गरे। 

बैठकबाट अन्तरराष्ट्रिय समन्वय परिषदलाई तत्काल शुल्क बुझाउन कोषाध्यक्षलाई निर्देशन दिने र उक्त प्रायोजनमा आइसीसीसँग ‘एमओयू’ मा हस्ताक्षर गर्न पूर्ण अधिकार उपाध्यक्ष नारायण कंडेललाई दिने निर्णय गरिएको छ।

त्यस्तै, आइसीसीका अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीलाई निम्त्याएर तीन महिनाभित्र विधान अधिवेशन गर्ने निर्णय गरिएको छ। आचार्यको कार्यकारी अवधि पूरा हुनुअघि नै विधान अधिवेशन गरेर उनलाई आइसीसी अध्यक्षको रुपमा स्वागत गरिने तयारी गरिएको बुझिएको छ। 

अहिले कुल आचार्य कार्यकारी अध्यक्ष रहेको आइसीसीको समितिलाई पनि अध्यक्ष गाहामगरले एनआरएनए यूकेका तर्फबाट औपचारिक रुपमा मान्यता दिएका छैनन्। 

बैठकले महासचिव खुशी लिम्बूले संस्थाको अनुशासनविपरित गतिविधि गरेको ठहर गर्दै उनीमाथि छानबिन गरी एक साताभित्रै रिपोर्ट पेश गर्ने म्यान्डेटसहित तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। काउन्सिलर नेम थापा संयोजक रहेको छानबिन समितिमा स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङ र पत्रकार मन्दीप केसीलाई सदस्य राखिएको छ। 

अध्यक्षको असहमतिबीच कार्यसमितिको बहुमतद्वारा निर्णयहरु गरिएको दावी गर्ने एक पदाधिकारीलाई ‘के अब एनआरएनए यूके फुटेको हो ?’ भन्ने प्रश्न गर्दा उनले भने, ‘फुटेको होइन । तर अब एनआरएनए यूकेको पोजिसन अध्यक्ष प्रेम गाहामगर रहेकै पोजिसनमा हैन भन्ने स्पष्ट भएको हो ।’

गलत हल्ला चलाएर ब्ल्याकमेल गरियो- गाहामगर 

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर भने आइतबारको बैठकमा दावी गरिएजस्तो बहुमत नपुगेको जिकिर गर्छन्।

‘बैठकमा बहुमतको लागि कोरम नै पुगेको छैन। ‘प्रि-प्लान’ रुपमा निर्णय लेखेर, कतिपयलाई बाहिरै साइन गराएर ल्याइएको छ । ती एजेन्डामा छलफल नहुँदै बैठक छोडेर जानेहरुको पनि साइन दुरुपयोग गरिएको छ’ उनले भने, ‘यो निर्णय नगरे हाम्रो संस्था आजै राती बर्खास्त हुन्छ भनेर भ्रम फैलाएर केहीलाई ब्ल्याकमेलकै शैलीमा प्रभावित पारिएको छ ।’ 

आइसीसी चरम विवादित रहेका कारण सदस्यता शुल्क केही समय ‘होल्ड’ गरौं भन्ने आफ्नो पहिलेदेखिकै स्पष्ट लाइन रहेको अध्यक्ष गाहामगरको दावी छ। ‘बेलायतका नेपालीहरुबाट उठाएको पैसा हो, उनीहरुलाई नसोधी पठाउनु हुँदैन भन्ने पक्षमा म सधैं थिए र अझै पनि छु’, उनले थपे ।

‘कार्यसमितिमा अहिले केही साथीहरुको कार्यशैली हेर्दा सबै प्री प्लान र नियतपूर्ण देखिएको छ । आफ्नो वा आफ्नो गुटको स्वार्थको लागि बेलायतवासी सम्पूर्ण नेपालीको संस्थामा खेलवाड गर्न मिल्दैन, म निर्वाचित अध्यक्षको रुपमा यस्ता गलत काम हुन दिनेछैन्’ उनी भन्छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू