शनिबार, जेठ ५, २०८१
05:30 | १०:१५

बेलायती प्रधानमन्त्री दौड: सुनाक सांसदहरूबीच लोकप्रिय, ट्रस सदस्यमाझ

नेपाली लिङ्क जुलाइ २६, २०२२

लन्डन – बेलायतको सत्तारूढ कन्जरभेटिभ दलको नयाँ नेता चुन्न ५ चरणको मतदानपछि अन्तिम दुईमा आइपुगेका छन् ऋषि सुनाक र लिज ट्रस । 

नयाँ नेता नै देशको प्रधानमन्त्री हुने भएकाले अब वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनलाई कसले प्रतिस्थापन गर्ला भन्ने चासो बेलायती राजनीतिमा बढेको छ । तर त्यसको निर्णय भने कन्जरभेटिभ दलका सदस्यहरूको हातमा छ । करिब १ लाख ६० हजार सदस्यले मतदान गरेर एक जनालाई पार्टी नेतासँगै प्रधानमन्त्रीको अभिभारा दिनेछन् । 

पार्टीका ३ सय ५८ सांसदद्वारा गत बुधबार गरिएको पांचौं चरणको मतदानमा सबैभन्दा थोरै मत पाउने पेनी मोर्डन्ट बाहिरिएसँगै पहिलो र दोस्रो स्थानका सुनाक र ट्रस अब पार्टीका सदस्यहरूले भोट गर्ने अन्तिम राउन्ड प्रवेश गरेका छन् । सुनाक निवर्तमान अर्थमन्त्री र ट्रस विदेशमन्त्री हुन् ।

अन्तिम दुईमा पर्न सफल ऋषि सुनाक र लिज ट्रसमध्ये पार्टीका बढी सदस्यहरूको रोजाइमा पर्ने उम्मेदवार आगामी सेप्टेम्बर ५ मा कन्जरभेटिभ पार्टीको नेता घोषणा हुनेछन् । कन्जरभेटिभ पार्टीले आगामी अगस्ट १ देखि ५ सम्म सम्पूर्ण सदस्यहरूसम्म मतपत्र पुरयाइने र सेप्टेम्बर २ को सा“झ ५ बजेसम्म प्राप्त हुने जनाएको छ । 

पार्टी सदस्यहरूले पोस्टल माध्यमका साथै अनलाइन भोटिङमार्फत पनि मत व्यक्त गर्न सक्नेछन् । सुनाकलाई पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचरका कोषाध्यक्ष लर्ड ल्यामन्ट, पूर्वउपप्रधानमन्त्री डोमिनिक राव, पूर्वस्वास्थ्यमन्त्री जेरेमी हन्ट, यातायातमन्त्री ग्रान्ट स्याप्स्, सांसद रेमन चिस्ती, कन्जरभेटिभ पार्टी पूर्वअध्यक्ष ओलिभर डोडेनजस्ता प्रभावशाली नेताले साथ दिएका छन् भने ट्रसको अभियानमा ब्रेक्जिट मन्त्री ज्याकोव रिस मोग, संस्कृतिमन्त्री नदिन डोरिस, व्यापारमन्त्री क्वासी क्वारटेङ, टोरीका पूर्वलिडर इयान डंकन स्मिथ, यस पटककै पार्टी दौडमा बाहिरिएकी एटोर्नी जनरल सुयला ब्रेभरम्यान, साइमन क्लार्कलगायतले समर्थन गरेका छन् । 

४२ वर्षीय सुनाक सांसदहरूबीच लोकप्रिय भए पनि पार्टी सदस्यहरूमाझ भने ४६ वर्षीया ट्रसले विश्वास जित्ने कतिपय सर्वेक्षणले देखाएका छन् । 

यूगोभको सर्वेक्षणमा कन्जरभेटिभ सदस्यहरुमाझ ट्रस ६२ प्रतिशतसहित निकै अगाडि देखिएकी छन् भने सुनाकको जम्मा ३८ प्रतिशत मत छ । बुकिज (सट्टेबाज) हरुले पनि लिजलाई फेभरेट बनाएका छन् । 

दुई प्रतिस्पर्धी मतदाता आकर्षित गर्न अब केही साता विभिन्न बहसमा सहभागी हुनेछन् । उनीहरूबीच बीबीसीमा २५ जुलाई र स्काई न्युजमा ४ अगस्टमा बहस तय भएको छ । 

कसको एजेन्डा के ?

सुनाकले कर्पोरेसन करको दायरा १९ बाट २५ प्रतिशत पुरयाउने, बन्दरगाह रहेको स्थानमा व्यापारिक केन्द्र बनाउने, बैंक तथा वित्तीय संस्थाहरूको पुनःसंरचना, स्वास्थ सेवामा थप लगानी, मुद्रास्फीति नियन्त्रणमा आएपछि सन् २०२४ को अन्तमा कर कटाउनेलगायत एजेन्डा अघि सारेका छन् ।

शनिबार पार्टी सदस्यहरुमाझ आफ्नो अभियान शुरु गर्दै सुनाकले प्रतिपक्षी लेबरलाई आउंदो चुनावमा पराजित गर्न सक्ने, युनियनको रक्षा र ब्रेक्जिट सुरक्षित राख्न सक्ने आफू एकमात्र सक्षम उम्मेदवार भएको दावी गरेका थिए ।  

उता, ट्रसले भने ३० अर्ब पाउन्ड बराबरको कर तुरुन्त कम गरी जनजीविका सहज पार्ने, ब्रेक्जिटमा भइरहेको उत्तरी आयरल्यान्डको झमेला अन्त्य गर्ने र कर्पोरेसन कर वृद्धिले लगानी कम र रोजगारी घट्ने हुंदा कर कटाउन आवश्यक भएको जिकिर गरेकी छन् । १.५ प्रतिशत एनआइ र इनर्जी कर पनि घटाउने उनको योजना छ । 

ट्रसले आगामी निर्वाचनका लागि आर्थिक विषय प्रमुख मुद्दा हुने भन्दै बेलायत करको सवालमा गलत दिशामा गइरहेको बताएकी छन् ।

बेलायतको युनिभर्सिटी अफ द वेष्ट अफ इंग्ल्याण्डमा अन्तर्राष्ट्रिय व्यापारका सहप्राध्यापक डा. बुद्धि पाठक सुनाकको एजेण्डाले अर्थतन्त्रमा तत्काल भन्दा दीर्घकालिन रुपमा राम्रो गर्ने बताउंछन् । 

ट्रसले अघि सारेका एजेन्डाप्रति अर्थशास्त्रीहरु विरोधमा रहेका जनाउंदै पाठकले उनको एजेण्डाले बेलायती अर्थतन्त्रमा एक वर्षमा ३६ बिलियन पाउण्ड डिफिसिट हुने बताए । 

‘तर लिजको पोलिसीले कष्ट अफ लिभिङ समस्या सम्बोधन र आउंदो चुनावमा कन्जरभेटिभ पार्टीलाई लेबरसंग प्रतिष्पर्धा गर्न सजिलो हुने भएकाले उनी सदस्यहरुमाझ लोकप्रिय देखिन्छिन्’, पाठकको बुझाइ छ ।  

पाठकका भनाइमा दुई मध्ये जो प्रधानमन्त्री आएपनि उनीहरुको कार्यकाल चुनौतिपूर्ण हुने देखिन्छ । खस्कंदो अर्थतन्त्र सुधार, युरोपसंगको सम्बन्ध सुदृढ, आप्रवासी समस्या समाधान, रुस युक्रेन युद्धका कारण देखिएको उर्जा संकट अन्त्य तथा स्कटल्याण्डले अलग्गिन फेरि जनमत संग्रह गर्न माग गरेकाले त्यो रोक्न त्यति सहज छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू