शनिबार, जेठ ५, २०८१
07:55 | १२:४०

इंग्ल्याण्डमा स्वास्थ्यकर्मीको अभाव, इतिहासकै संकट

नेपाली लिङ्क जुलाइ २५, २०२२

लन्डन । इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस अन्तर्गतका स्वास्थ्य क्षेत्रमा डाक्टर तथा नर्सहरुको  चरम अभाव भएको छ । ठूलो संख्यामा पदहरु रिक्त रहेका कारण बिरामीको सुरक्षामा गम्भीर जोखिम हुनसक्ने भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

इंग्ल्याण्डमा अहिले १२ हजार चिकित्सक र ५० हजार नर्स तथा मिडवाइफहरुको अभाव रहेको अधिकारीहरुले बताएका छन् । यसलाई एनएचएस इतिहाँसकै नाजुक अवस्था भनिएको छ । तर, सरकारले भने काम गर्नेको संख्या वृद्धि हुँदै गएको र एनएचएस इंग्ल्याण्डले थप कर्मचारी भर्ती गर्ने दीर्घकालिन योजना राखेको बताएको छ ।

अब आउने नयाँ प्रधानमन्त्रीले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने पूर्व स्वास्थ्यमन्त्री जेरेमी हन्टले बताएका छन् । स्वास्थ्यकर्मीको अभावमा स्वयं कर्मचारी र बिरामीलाई समेत गम्भीर जोखिममा पार्ने भएकाले यसलाई सरकारले दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने उनको धारणा थियो ।

स्कटल्याण्ड, वेल्स् र उत्तरी आयरल्याण्डका स्वास्थ्य क्षेत्रमा पनि स्वास्थ्यकर्मीको अभाव बढेको छ । विगतको आँकडा नियाल्ने हो भने झन्डै आधा जस्तो नर्स र मिडवाइफहरु विदेशबाट आउने गर्छन् ।

‘नर्सिंग एण्ड मिडवाइफरी काउन्सिल’ को  सन् २०२१–२२ को तथ्यांकले यो पेशा छाड्नेको संख्या बढेको देखाएको छ । गतवर्ष करिब २७ हजार बाहिरिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू