शनिबार, जेठ ५, २०८१
05:06 | ०९:५१

नेपाल नागरिकता विधेयक पारित भएकामा गैरआवासीय नेपाली खुशी

रासस जुलाइ २४, २०२२

लन्डन । प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयक पारित गरेको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्रयाउन सहज हुने बताए ।

आचार्यले संघको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छ । ”

अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्ने सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत संघका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिए ।

यसैगरी संघका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । “हामी गैरआवासीय नेपाली (एनआरएन) हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उनले भनिन् ।

संघका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए ।

“यी अधिकारको परिभाषा अर्को विधयेक गैरआवासीय नेपालीसम्बन्धी विधयेकमा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’ को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय संघले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ”, उनले भने ।

संघका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । उनले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए ।

संघका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतिक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए ।

“सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसंग जोड्न कोसेढुंगा सावित हुने विश्वास छ”, उनले भने ।

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू