शनिबार, जेठ ५, २०८१
06:48 | ११:३३

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता सम्बन्धि नागरिकता ऐनमा संसोधन विधेयक दर्ता

सन्तोष थलङ जुलाइ २१, २०२२

लन्डन– ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियानको इतिहासमा एउटा अभूतपूर्व उपलब्धिका रुपमा नागरिकता ऐनमा संसोधन विधेयक दर्ता भएको छ । अब ब्रिटिश गोर्खा र सन्तानहरुको नागरिकता निरन्तरताको विषय सार्वभौम संसदको सम्पत्ति बनेको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ र नियम ११२ को उपनियम (१) अन्तर्गत ब्रिटिश गोर्खा तथा गोर्खाका सन्तानहरुले बेलायती आवासीय अधिकार वा अंगीकृत नागरिकता प्राप्त गरेपनि वंशजको नेपाली नागरिकताले निरन्तरता पाउनु पर्ने सम्बन्धि संसोधन विधेयक दर्ता भएको छ ।

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय फोरम, कानूनी सल्लाहकार र ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान नेपालको संयुक्त पहलकदमीमा तयार भएको संसोधन विधेयक गत श्रावण १ गते सर्वदलीय संसदीय फोरमका संयोजक पूर्व कानून तथा स्वास्थ्य मन्त्री सांसद शेरबहादुर तामाङले प्रतिनिधि सभामा दर्ता गराएका छन् ।

नागरिकता ऐन संसोधन विधेयकमा निम्नलिखित संशोधान प्रस्ताव समावेश गरिएको छः

मूल ऐनको दफा ३ को उपदफा (१) र मूल ऐनको दफा १० को उपदफा (१) मा जुनसुकै कुरो लेखिएको भएपनि नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिश गोर्खाहरुको हकमा ब्रिटिश सेनामा काम गरि योगदान गरेवापत सम्मानार्थ ब्रिटिश आवासीय भिसा वा अंगीकृत नागरिकता प्राप्त गरेपनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तरता कायम रहनेछ भनि थप गर्नुपर्ने ।

साथै ब्रिटिश गोर्खाका सन्तान बेलायतमा नै जन्मि बेलायतको नागरिकता प्राप्त गरेता पनि निजले नेपाली वंशजको नागरिकता प्राप्त गर्न चाहेमा कुनै बाधा पुगेको मानिने छैन भनि थप गर्नुपर्ने ।

त्यसैगरी, दफा ३ मा जुनसुकै कुरा लेखिए पनि उक्त दफामा उपदफा (७) थप गरि ब्रिटिश गोर्खा सैनिक तथा निजका सन्तानको वंशजको आधारमा नागरिकता निरन्तरता पाउने कुरामा कुनै बाधा पर्ने छैन भनि थप गर्नुपर्ने ।

ब्रिटिश गोरखा नागरिकता निरन्तरता अभियानलाई राष्ट्रको गम्भीर मुद्दा ठानी आफ्नो क्षमता, दक्षता र समय दिएर सशक्त रुपमा गति दिइरहेका कानूनी सल्लाहकार डा. चन्द्रकान्त ज्ञवाली तथा सर्वदलीय संसदीय फोरमका संयोजक पूर्व मन्त्री शेरबहादुर तामाङ लगायत फोरमका सदस्य माननीय सांसदहरुप्रति सम्पूर्ण ब्रिटिश गोर्खाहरुका तर्फबाट  ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान नेपाल-यूकेले ससम्मान आभार व्यक्त गरेको छ ।

साथै ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियान नेपाल संयोजक अधिवक्ता योगिता राई र संरक्षक क्याप्टेन हिमाल राईको सकृय भूमिकाप्रति सम्पूर्ण गोर्खा समुदाय आभारी भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू