शनिबार, जेठ ५, २०८१
07:17 | १२:०२

बेलायती प्रधानमन्त्रीको फाइनल रेसमा सुनाक र ट्रस, अन्तिम फैसला पार्टी सदस्यको हातमा

नेपाली लिङ्क जुलाइ २०, २०२२

लन्डन। बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टी नेता हुँदै देशको नयाँ प्रधानमन्त्रीको लागि फाइनल राउन्डमा ऋषि सुनाक र लिज ट्रसबीच प्रतिस्पर्धा हुने भएको छ।

पार्टीका सांसदहरुद्वारा बुधबार गरिएको पाँचौं चरणको मतदानमा सबैभन्दा थोरै मत पाउने पेनी मोर्डन्ट बाहिरिएसंगै पहिलो र दोस्रो स्थानका सुनाक र ट्रस अब पार्टीका सदस्यहरुले भोट गर्ने अन्तिम राउन्ड प्रवेश गरेका छन्।

पछिल्लो चरणको मतदानमा सुनाकले यसअघिका सबै चरणमा जस्तै सर्वाधिक मत प्राप्त गरे। सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थानमै रहंदा दोस्रो बढी मतले पाउने लिज ट्रसले १ सय १३ मत पाइन्। १ सय ५ मत पाएकी पेनी मोर्डन्ट प्रतिस्पर्धाबाट बाहिरिइन्।

अघिल्लो चरणको तुलनामा बुधबार सुनाकले १९, ट्रसले २७ र मोर्डन्टले १३ मत बढी पाएका थिए। यसअघिका चार वटै चरणमा दोस्रो स्थान ओगट्न सफल मोर्डन्टलाई अन्तिम राउन्डमा पछि पार्दै ट्रसले फाइनल दुईमा आफ्नो स्थान बनाउन सफल भएकी हुन्।  

अन्तिम दुईमा पर्न सफल ऋषि सुनाक र लिज ट्रसमध्ये पार्टीका बढी सदस्यहरुको रोजाइमा पर्ने उम्मेद्वार आगामी सेप्टेम्बर ५ मा कञ्जरभेटिभ पार्टीको नेता घोषणा हुनेछन्। पार्टीको नयाँ नेताले बोरिस जोन्सनलाई प्रतिस्थापन गर्दै बेलायतको नयाँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

फाइनल राउन्डका दुई प्रतिस्पर्धीध्ये एकलाई विजेता बनाउने जिम्मेवारी अब कञ्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यको हातमा पुगेको छ। 

कञ्जरभेटिभ पार्टीले आगामी अगस्ट १ देखि ५ तारिखभित्र सम्पूर्ण सदस्यहरुसम्म मतपत्र पुर्‍याइने र सेप्टेम्बर २ तारिख साँझ ५ बजेसम्म प्राप्त हुने मतलाई गणना गरिने जनाएको छ।  

पार्टी सदस्यहरुले पोस्टल माध्यमबाट साथै अनलाइन भोटिङमार्फत् पनि मत व्यक्त गर्न सक्नेछन्। नतिजा सेप्टेम्बर ५ मा घोषणा गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू