शनिबार, जेठ ५, २०८१
05:30 | १०:१५

लन्डन आज विश्वकै अत्यधिक गर्मीको सूचीमा, राष्ट्रिय संकटको घोषणा  

नेपाली लिङ्क जुलाइ १८, २०२२

लन्डन । सोमबार लन्डन विश्वकै अत्यधिक बढी तापक्रम हुने स्थानको रुपमा सूचिकृत हुने बताइएको छ । सोमबार र मंगलबारको  तापक्रम अहिलेसम्मकै उच्च रहने मौसम विभागको कार्यालय (मेट अफिस) ले जनाएको छ ।

लन्डन, म्यानचेष्टर र योर्कलगायतका क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियसको आसपासमा पुग्ने बताइएपछि त्यहाँको जनजीवन थप आतंकित बनेको छ । बेलायतको इतिहासमा यो नै सबैभन्दा बढी तापक्रम हुनेछ ।

सन् २०१९ मा क्याम्ब्रिजमा ३८.७ सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च मानिएको थियो ।  सोमबार र मंगलबार अत्यधिक गर्मी हुने भनि बेलायत सरकारले पहिलोपल्ट ‘ रेड अलर्ट’ जारी गरेको छ ।

यसैगरी वेल्स, स्कटल्याण्डका केही भाग र इंग्ल्याण्डका अन्य भागहरुमा पनि सरकारले ‘एम्बर वार्निङ’ जारी गरेको छ । उच्च तापमानका कारण ज्यानको जोखिम हुने भनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

अत्यधिक गर्मीका कारण बेलायतमा राष्ट्रिय संकट घोषणा गरिएको छ । उच्च तापक्रमका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोग समेत जोखिम हुनसक्ने बताइएको  छ ।

मानिसहरुले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउनसक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाई हुनसक्ने चेतावनी जारी गरिएको छ ।

सोही विषयलाई लिएर गत शनिबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा कोब्रा बैठक डाकिएपनि प्रधानमन्त्री बोरिस जोन्सन भने उपस्थित भएनन्, जसका कारण उनी थप आलोचित बनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू