मंगलबार, जेठ १, २०८१
11:37 | १६:२२

गोर्खाहरुको अडानपछि वार्ताको ‘टिओआर’ निर्माणमा पनि प्रतिनिधि राखिने

टिओआर तयारी बैठकमा गोर्खा प्रतिनिधि मेजर जुद्धबहादुर गुरुङले भाग लिने

नेपाली लिङ्क जुलाइ १५, २०२२

गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई

लन्डन- गोर्खा वार्ताको तयारीका क्रममा पनि पूर्व गोर्खाहरुले आफ्नो प्रतिनिधित्व हुनुपर्ने भनी उठाएको माग सम्बोधन भएको छ।  

गोर्खा मुद्धामा बेलायत र नेपालबीच हुने वार्ताको मोडालिटी र टिओआर (टर्म्स अफ रिफरेन्स) निर्माण प्रक्रियामा पनि गोर्खा प्रतिनिधिको सहभागिता सुनिश्चित भएको छ।

टिओआर र वार्ता मोडालिटी तयार गर्न यही जुलाई महिनाभित्र बस्ने भनिएको बेलायत-नेपाल दुई पक्षीय बैठकमा गोर्खाहरुको प्रतिनिधिका रुपमा मेजर जुद्धबहादुर गुरुङले पनि भाग लिने भएका हुन्।

गोर्खा वार्तामा गोर्खाहरुको प्रतिनिधिको रुपमा भाग लिन यसअघि नै चयन भइसकेका गुरुङलाई टिओआर निर्माणका क्रममा पनि सहभागी गराइने जानकारी लन्डनस्थित नेपाली दूतावासले गोर्खाहरुलाई गराएको छ।

शुक्रबार दूतावासमा गोर्खाहरुसँग भएको छलफलमा वार्ताको लागि नेपाली पक्षका संयोजक समेत रहेका राजदूत ज्ञानचन्द्र आचार्यले वार्ताको तयारी चरणमा पनि गोर्खाका प्रतिनिधिको सहभागिता ग्यारेन्टी गरेको गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेपाली लिंकलाई जानकारी दिए।

गोर्खाहरुको मागअनुसार टिओआर निर्माणमा पनि गोर्खा प्रतिनिधिको सहभागिता गराउन बेलायती पक्षसँग राखिएको प्रस्ताव स्वीकृत भएको जानकारी राजदूत आचार्यले गराएका छन्।

आगामी हप्ताको अन्त्यसम्ममा ‘टिओआर’ तयार गरिसक्ने गरी तयारी भइरहेको सत्याग्रह प्रमुख संयोजक राईले बताए। तीन भागमा सम्पन्न हुने गोर्खा वार्ताको पहिलो भाग आगामी अक्टोबरसम्ममा पूरा भइसक्नुपर्ने आफ्नो स्पष्ट अडान रहेको भन्दै उनले त्यसो हुन नसके आफूहरुलाई मान्य नहुने र कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार दूतावासमा सम्पन्न छलफलमा सहभागी सत्याग्रह समितिका अभियन्ताहरु

यसअघि वार्ताका लागि दुई पटकसम्म भएका बेलायत तथा नेपालबीचका बैठकमा गोर्खाहरुलाई सहभागी नगराइएपछि गोर्खाहरुले त्यसप्रति असन्तुष्टि जनाउंदै आएका थिए।आफ्ना प्रतिनिधिबिनै वार्ता तयारी गरिए आफूहरु त्यसमा सहभागी नहुनेसम्मका चेतवानी गोर्खाहरुले दिएका थिए।  

राजदूतसंगको छलफलमा सत्याग्रह समितिबाट प्रमुख संयोजक राईसंगै अभियन्ताहरु ज्ञानराज राई, टकबहादुर गुरुङ, विष्णु गुरुङ, देवी लिम्बू, होम सुनुवार, याम गुरुङ, ढक रानालगायतको सहभागिता थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू