मंगलबार, जेठ १, २०८१
00:18 | ०५:०३

बेलायती प्रधानमन्त्रीको दौड: पहिलो चरणमा २ जना आउट, सुनाकलाई सर्वाधिक मत

नेपाली लिङ्क जुलाइ १३, २०२२

लन्डन- बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टी नेताको लागि भएको पहिलो चरणको निर्वाचनबाट ६ प्रतिस्पर्धी अघि बढेका छन्।

दलका सांसदहरुको मतदानपछि कम्तीमा तीस मत प्राप्त गर्ने ६ जना दोस्रो चरणको प्रतिस्पर्धाका लागि छानिएका हुन्। पार्टी नेताका जम्मा ८ उम्मेद्वारमध्ये तीसभन्दा कम मत पाउने अन्य दुई भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।  

पहिलो चरणको प्रतिस्पर्धामा सबैभन्दा बढी ८८ मत निवर्तमान अर्थमन्त्री ऋषि सुनाकले पाएका छन् ।

त्यस्तै, दोस्रो स्थानमा पेनी मोर्डन्टले ६७ मत, तेस्रो स्थानमा लिज ट्रसले ५० मत, चौंथो स्थानमा केमी ब्याडेनोकले ४० मत, पांचौ स्थानमा टम टुगेन्डहटले ३७ र छैठौँ  स्थानमा सुएला ब्रेभरम्यानले ३२ मत प्राप्त गरेका छन्।  

तीस मतको थ्रेसहोल्ड कटाउन नसक्ने नादिम जहावी र जेरेमी हन्टले क्रमश: २५ र १८ मत प्राप्त गरी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।  

पहिलो चरणबाट अघि बढ्न सफल ६ प्रतिस्पर्धीमध्येबाट अब थप केही चरणका मतदानपछि फाइनल दुई छनोट हुनेछ ।  

फाइनल राउन्ड पुग्ने दुई प्रतिस्पर्धीबीचको अन्तिम प्रतिस्पर्धामा भने देशभरका करिब एक लाख ६० हजार कञ्जरभेटिभ पार्टी सदस्यले मत दिन पाउनेछन्।

सो मतदानबाट विजयी हुने नेतालाई बेलायतको नयाँ प्रधानमन्त्री हुने अवसर मिल्नेछ।    

केही दिनअघि पदबाट राजीनामा घोषणा गरेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रतिस्थापन गर्न उनको कञ्जरभेटिभ पार्टीमा शुरु भएको नेता चयन प्रक्रिया टुंगिएर देशले नयाँ प्रधानमन्त्री पाउन सेप्टेम्बर ५ सम्म पर्खिन पर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू