मंगलबार, जेठ १, २०८१
21:37 | ०२:२२

बेलायतमा नयाँ प्रधानमन्त्रीको दौड: कञ्जरभेटिभ पार्टीको नेता बन्न ८ जना मैदानमा

नेपाली लिङ्क जुलाइ १२, २०२२

लन्डन-बेलायतको भावी प्रधानमन्त्री बन्ने सत्तारुढ कञ्जरभेटिभ पार्टी नेताको प्रतिस्पर्धामा ८ जना मैदानमा उत्रिएका छन् ।

 उम्मेद्वारी दर्ताका लागि निर्धारित मंगलबार साँझ ६ बजेसम्म जम्मा ८ नेताले उम्मेद्वारी दर्ता गराएको पार्टीको १९२२ कमिटीले जनाएको छ।

कञ्जरभेटिभ पार्टीको नेतामा आफ्नो उम्मेद्वारी दर्ता गर्नेहरुमा केमी ब्याडेनोक, सुएला ब्रेभरम्यान, जेरेमी हन्ट, पेनी मोर्डन्ट, ऋषि सुनाक, लिज ट्रस, टम टुगेन्डहट र नादिम जहावी छन् ।

पार्टी नेताका दाबेदारहरुले आफ्नो पक्षमा कम्तीमा २० जना सांसदको समर्थन जुटाएर उम्मेद्वारी दर्ता गराएका छन् ।  

उम्मेद्वारी दर्ता गरेका नेताहरुले बुधबार नै संसदीय दलमा पहिलो मतदान सामना गर्नेछन्। सो मतदानमा कम्तीमा तीस सांसदको मत प्राप्त गर्ने उम्मेद्वार मात्रै अर्को चरणको प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।  

विभिन्न चरणमा सांसदहरुकै मतदानबाट अन्तिम दुईसम्म पुग्न सफल हुने दाबेदारहरुलाई भने कञ्जरभेटिभ पार्टीका सबै सदस्यले मत दिन पाउनेछन्। उक्त चरणमा विजेता हुने पार्टीको नेता बन्दै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछ।

कञ्जरभेटिभ पार्टीको नेता वा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया आगामी सेप्टेम्बर ५ तारिखमा पूरा हुने अपेक्षा छ।

विवादास्पद आचरण र कार्यशैलीका कारण पार्टीभित्रैबाट चरम दबाब आएपछि प्रधानमन्त्री बोरिस जोन्सनले केही दिनअघि मात्रै राजीनामा घोषणा गरेका थिए। आफूलाई प्रतिस्थापन गर्ने नयाँ पार्टी नेता निर्वाचित नहुन्जेल जोन्सन आफूले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू