शनिबार, जेठ ५, २०८१
05:30 | १०:१५

बेलायती पर्यटक नेपाल भित्रयाउन दूतावासको पहल

नेपाली लिङ्क जुलाइ ६, २०२२

लन्डन । लन्डनस्थित नेपाली दूतावासले ब्रिटिश पर्यटक नेपाल पठाउन पहल शुरु गरेको छ । कोभिड महामारीपछि पहिलोपटक प्रत्यक्ष कार्यक्रम गरि दूतावासले नेपालको पर्यटन प्रवर्धनका लागि पहल गरेको हो ।

नेपालको अर्थतन्त्र उकास्न पर्यटनका सम्भावनाबारे दूतावासमा मंगलबार सांझ आयोजित कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको प्राकृतिक सौन्दर्य वर्णन गर्दै नेपाल विदेशी पर्यटक स्वागत गर्न आतुर रहेको जनाए ।

राजदूत आचार्यले कोभिड महामारीपछि नेपालको पर्यटन पुनर्जिवित हुने चरणमा रहेको उल्लेख गर्दै बेलायती पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिए ।

‘भर्चुअल’ रुपमा काठमाडौंबाट जोडिएका नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर लक्ष्मण गौतमले स्लाइड शोमार्फत नेपालका विशेषता औंल्याए । नेपालको भौगोलिक अवस्था चित्रणदेखि नेपालीको अतिथी सत्कार, संस्कृति, पर्यटकका प्रमुख आकर्षण, नेपालमा उपलब्ध सेवा सुविधा आदिबारे चर्चा गर्दै गौतमले नेपाल भ्रमण गर्ने बेलायतीको संख्या अन्य देशको तुलनामा अग्रपंक्तिमा रहेको पनि बताए ।

भर्चुअल रुपमै सहभागी अर्का वक्ता नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट्स (नाटा) का अध्यक्ष रमेश थापाले नेपालको पर्यटकीय आकर्षणबारे अवगत गराउंदै नेपाल पर्यटकका लागि विश्वमै उत्कृष्ट गन्तव्य रहेको बताए ।

उक्त कार्यक्रममा बीबीसी मास्टर सेफ द प्रोफेशनल्सका फाइनलिष्ट सेफ सन्तोष शाहले नेपाली खाना विश्वमा परिचित गराउन आफू लागिरहेको जनाउंदै नेपाल जस्तो उत्कृष्ट गन्तव्य र खानाका परिकार अन्यत्र नभएको धारणा राखे ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, लेखक तथा पत्रकार जो बाइन्डलस, ट्राभल कन्सोलका सञ्चालक बिराज भट्ट, एओल एड्भेन्चरका अपरेसन्स् म्यानेजर ड्यान राइट लगायतले नेपालको पर्यटन विशेषता औंल्याउंदै नेपाल भ्रमण गर्न बेलायतीलाई प्रेरित गरेका थिए ।

कार्यक्रममा सेफ सन्तोष शाह, कोभिड महामारीका बेला अंग्रपंक्तिमा खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीहरुलाई एक लाख बक्स खाना निशुल्क बांड्ने सुजन कटवाल र एभरेष्ट इनका सेफ शंकर पाण्डेलाई दूतावासका तर्फबाट सम्मान गरिएको थियो ।

ट्राभल एण्ड टुर्स अपरेटर, ट्राभल राइटर, ट्राभल व्यवसायी, सञ्चारकर्मी लगायत बेलायती तथा नेपाली सहभागी उक्त कार्यक्रममा सयपत्री कल्चरल ग्रुप आवद्ध किशोरीहरुले मौलिक नेपाली नाच प्रस्तुत गरेका थिए भने सयपत्री अध्यक्ष डम्बरसिंह प्रयासले सारंगीको धुन सुनाए।

विदेशी पाहुना सेफ सन्तोष शाहले पकाएको क्यानपीज् र अन्त्यमा होली काउको डिनरमा रमाएका देखिन्थे ।

लन्डनस्थित नेपाली दूतावासले गत सातामात्र लगानी सम्मेलन गरेको थियो ।

तस्विरहरु- शिव भण्डारी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू