मंगलबार, जेठ १, २०८१
18:59 | २३:४४

ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्न गम्भीर छलफल

नेपाली लिङ्क जुलाइ ५, २०२२

लन्डन । ब्रिटिश गोर्खा र तिनका सन्ततिहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्न गम्भीर छलफल भएको छ ।

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय फोरम संयोजक पूर्व मन्त्री शेरबहादुर तामाङको अध्यक्षतामा ५ जुलाई मंगलबार अपरान्ह काठमाडौंमा सम्पन्न बैठकमा सोबारे छलफल भएको हो ।

बैठकले ब्रिटिश गोर्खाहरुको वलिदान, सन्धि सम्झौता र उनीहरुका पे, पेन्सनबाट राष्ट्रलाई प्राप्त हुने दीर्घकालिन वैदेशिकमुद्राका विषयमा सबै पार्टीका शीर्ष नेताहरुसंग गम्भीर छलफल गरि पार्टीमा ह्वीप जारी गर्ने परिस्थिति निर्माण गरि अध्यादेश मार्फत संविधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।

हाल संसदमा निर्णायार्थ दर्ता रहेको नागरिकता संसोधन विधेयक आजै सरकारले फिर्ता लिएको प्रसंग उजागर गर्दै ब्रिटिस गोर्खाहरुको नागरिकता निरन्तरताको दीर्घकालिन समाधान संविधान संशोधनबाट मात्र सम्भव हुने विषयमा सबैको सहमति बनेको अभियन्ता सन्तोष थलङले जनाए ।

बैठकमा पूर्व मन्त्री वसन्त नेम्बाङ, सांसदहरु सुरेश कुमार राई, यज्ञराज सुनुवार, हेम कुमार राई र राजेन्द्र राई उपस्थित थिए ।

त्यसैगरि यस अभियानका धरोहर कानूनी सल्लाहकार संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली साथै अभियानका नेपाल संरक्षक क्याप्टेन हिमाल राई र नेपाल संयोजक योगिता राईको पनि सहभागिता थियो।

बैठकमा गत असार ३ गते संसद सचिवालयमा दर्ता गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ चालु संसद अधिवेशनमै सशक्त रुपमा छलफल गराउन सक्दो पहल गर्ने र छलफलको विषय ब्रिटिश गोर्खाहरुले परिस्थितिवश बेलायती अंगीकृत नागरिकता लिएपनि तिनका वंशजको नेपाली नागरिकता संविधान संशोधनमार्फत निरन्तरता रहने र बेलायत-हङकङमा जन्मेका गोर्खा सन्ततिहरुले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने संवैधानिक ब्यवस्था सुनिश्चित हुनुपर्नेमा केन्द्रित 
हुनुपर्ने निर्णय भएको छ ।

संवैधानिक तथा कानूनी पक्षमा कानूनी सल्लाहकार डा. चन्द्रकान्त ज्ञवाली र अभियानकी नेपाल संयोजक अधिवक्ता योगिता राईले सुझाव राखेका थिए ।

त्यसैगरी राजनीतिक परिस्थिति र भावी रणनीतिका विषयमा सांसदहरुले आफ्ना धारणा राख्दै यथासम्भव चाँडो ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता गरिछाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले स्पष्टताका साथ अघि सारेको यो अभियानमा कुनै द्विविधा वा कसैबाट अवरोध हुने कृयाकलाप हुन नहुने विषयमा सर्वदलीय संसदीय फोरमले गम्भीर ध्यान आकृष्ट पनि गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू