मंगलबार, चैत ६, २०८०
07:04 | १२:४९

प्रा सुवेदीको योगदान राष्ट्रपतिबाट कदर, प्रदान गरिन् ‘स्वर्ण सम्मान’

नेपाली लिङ्क जुलाइ २, २०२२

लन्डन। बेलायतस्थित कानूनका ज्ञाता प्राध्यापक डा सूर्यप्रसाद सुवेदी ‘क्यूसी’ नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट सम्मानित भएका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सम्मान प्रदान गरेकी हुन्।

बेलायतमै रहेकाले सम्मान समारोहमा उपस्थित हुन असमर्थ प्रा सुवेदीका प्रतिनिधिले सम्मान ग्रहण गरेका थिए।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक रहेका सुवेदीले कानूनको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान दिइएको हो।

नेपालको जनमत संग्रहका बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाएको भन्दै सुवेदीलाई सम्मान गरिएको छ।

नेपाल ल क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका सुवेदीले गत वर्ष १० लाख रुपैँयासहित बेलायतस्थित आफ्नो पुस्तकालय पनि क्याम्पसलाई सहयोगस्वरूप प्रदान गरेका थिए।

आफ्नो अध्ययन र प्राध्यापनका क्रममा संकलित अन्तरराष्ट्रिय कानूनसम्बन्धि पुस्तकहरु उनले क्याम्पसको पुस्तकालयलाई दिएका थिए ।  

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा प्राध्यापक सुवेदी र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ गरी दुई जनालाई स्वर्ण सम्मान प्रदान गरिएको छ।

नेम्वाङलाई नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो। उनी पनि नेपाल ल क्याम्पसका पूर्व विद्यार्थी तथा प्राध्यापक हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू