मंगलबार, चैत ६, २०८०
11:31 | १७:१६

नेपालमा लगानी गर्न बेलायती व्यवसायी उत्सुक

फडिन्द्र भट्टराई जुलाइ १, २०२२

लन्डन । बेलायतका व्यावसायिक लगानीकर्ताहरुले आफूहरु नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन् । नेपाली दूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबार नेपाली दूतावास लन्डनमा आयोजित ‘नेपाल लागानी सम्मेलन’ मा लगानीकर्ताहरुले सो धारणा व्यक्त गरेका हुन् ।

नेपालमा लागानी गर्ने सम्भावित लगानीकर्ताहरुलाई लक्षित गर्दै आयोजित सो कार्यक्रममा नेपाल लागानी बोर्डका कार्यकारी निर्देशक, बेलायतको आन्तरिक लागानी विभागका निर्देशक, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीका लगानीकर्ता लगायतले सम्बोधन गर्दै नेपाल नाफामूलक लगानीका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

सम्मेलनमा विभिन्न सरोकारवाला कम्पनी तथा सरोकारवाला निकायका अधिकारीहरुले लगानी तथा प्रतिफलका तथ्यांकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा राजनैतिक स्थायित्व कायम भएको बताउँदै लगानीको सम्भावनाहरु औंल्याए ।

राजदूत आचार्यले नेपाल सरकार नेपालमा वैदेशिक लगानीलाई सहज बनाउन क्रियाशील रहेको बताउंदै नेपाल आर्थिक सम्वृद्धिको दिशामा अघि बढेको जानकारी दिए । उनले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आवहान समेत गरे । बेलायतको आन्तरिक व्यापार विभागका ‘मेनुफ्याक्चरिंग इनर्जी एन्ड इन्फास्ट्रक्चर’ का निर्देशक रोडनी ब्राक्लीले बेलायतबाट नेपालमा हुने लागानी दुवै देशका लागि फाइदाजनक रहेको बताउंदै यसमा बढावा दिनु पर्नेमा जोड दिए ।

उनले आफ्नो विभाग लगानीकर्ताहरु लाई सल्लाह सुझाव र सहयोगका लागि तत्पर रहेको बताए । साथै उनले लगानीबाट प्राप्त हुने मुनाफामा दोहोरो कर प्रणाली खारेज हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले नेपाल वैदेशिक लागानी लागि उपयुक्त गन्तव्य रहेको बताए ।

निर्देशक भट्टले नेपालमा हाइड्रो, यातायात, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रको सम्भावना औंल्याउदै यी क्षेत्रमा लगानी गर्न आग्रह गरे । साथै उनले सिमित संख्याका ठूला परियोजना भन्दा ठूलो संख्यामा साना लगानीलाई उत्प्रेरित गर्न लागिएको बताए ।

कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लागानी सम्बन्धि विस्तृत प्रस्तुति दिएका थिए । प्रस्तुतिमा नेपाल लगानी बोर्डले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल र वार्षिक ५ मिलियन पर्यटन भित्रयाउने लगायतका लक्ष लिएको जनाइएको थियो ।

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले नेपालमा लगानीका चुनौतिको बारेमा चर्चा गरे । कार्यक्रममा डोल्मा ईम्प्याक्ट फण्डका संस्थापक कार्यकारी अधिकृत टिम गोचरले नेपाल लगानीका लागि प्रशस्त सम्भावनाको मुलुक भएको बताउँदै उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले नेपालमा लगानीको क्षेत्रमा सामान्य चुनौति रहे पनि प्रतिफल प्राप्त हुनेमा ढुक्क हुन आग्रह गरे। उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य भएको समेत बताए ।

सम्मेलनलाई सम्बोधन गदै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुले हाइड्रो, बैंकिङ, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेको चर्चा गर्दै संघले नेपाल सरकारसंग सहकार्य गर्दै गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण सृजनामा संयोजन गरिरहेको जनाए ।

नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको कार्यक्रममा ब्रिटेन नेपाल चेम्बर अफ कर्मका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रका लगानीकर्ता, व्यवसायिक कम्पनी आवद्ध पदाधिकारी, नेपाली व्वयवसायीहरुका साथै पत्रकार समाजसेवी लगायतको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रम समापनपछि भएको बिजिनेस ‘नेटवर्किङ’ मा लगानीकर्ताहरुले आपसी अन्तरंगमा आ आफ्ना अनुभव साटासाट गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू