बिहीबार, वैशाख १३, २०८१
10:47 | १५:३२

बेलायतका लागि नेपाली राजदूत आचार्य आयरल्याण्डको समेत राजदूत नियुक्त

नेपाली लिङ्क जुन २७, २०२२

लन्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैर आवासीय राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आचार्यलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेकी हुन् ।

बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा आचार्यले फेब्रुअरी तेश्रो साता पदबहाली गरेका थिए ।

राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्दै काम थालनी गरिसकेका छन् ।

भूतपूर्व ब्रिटिश गोर्खा समस्या समाधान गर्न पनि उनको सक्रियता छ ।

राजदूत आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले पछि परराष्ट्र मन्त्रालयको सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका आचार्यले राष्ट्रसंघमा उपमहासचिवको जिम्मेवारी समेत सम्हालेका थिए । सन् २०१२ अगष्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए ।

आचार्यले विगतमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू